काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । वर्षे अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन शुक्रबार अपराह्न ४ बजे बस्नेगरी आह्वान गरेकी छन् ।संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले हिउँदे अधिवेशनका लागि प्राविधिक र प्रशासनिक तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।
हिउँदे अधिवेशनका लागि सरकारले अहिलेसम्म चारओटा विधेयक संसदमा दर्ता गराएको छ ।यस्तै, प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक र राष्ट्रियसभामा थाती रहेका चार विधेयक पनि आगामी संसद अधिवेशनबाट पारित गर्ने प्रक्रियामा छन् ।
हिउँदे अधिवेशनको पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले नै गर्नेगरी तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।नियमावलीमा सभामुखले संसद बैठकको अध्यक्षता गर्ने व्यवस्था रहेपनि अहिले सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखले नै बैठकको अध्यक्षता गर्ने सचिवालयले जनाएको हो ।
सभामुख पद रिक्त रहेको अवस्थामा संसदका सबै काम उपसभामुखले गर्न पाउनुपर्ने माग तुम्बाहाङ्फेले गर्दै आएकी छन्। संविधानको धारा ९१ (४०) को व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्न पाउने प्रावधान छ।
सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सांसदले बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था छ।
बैठकको अध्यक्षता र पहिलो बैठकको कार्यसूचीबारे संसद बैठक बस्नुअघि शुक्रबारै बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउनेछ ।संसदको बजेट अधिवेशन गएको असोज २ गते अन्त्य भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।