महोत्तरी । दिनभरि लगातार चिसो चलेर लगलगी कमाउने जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जाडो निकै बढेर ससाना नानीलाई विद्यालय जान सकस परेको हुँदा नगरक्षेत्रका आधारभूत र माध्यमिक गरी १६ वटै विद्यालय आजदेखि आउने सोमबारसम्मका लागि बन्द गरिएका हुन् ।
बिहीबार नगर कार्यपालिकाको शिक्षा शाखाले आउने सोमबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको शाखा प्रमुख ज्ञानेन्द्र यादवले जानकारी दिए। त्यसपछिको अवस्था हेरेर थप निर्णय गरिने शाखाले जनाएको छ ।विद्यालय बन्द गर्नसँगै औरही नगरपालिकाले गरिब र विपन्न बस्तीमा आगो ताप्न सुकेका मुडा (दाउरा) वितरण पनि थालेको छ ।
एक साताअघि पानी परेपछि बढ्दै गएको जाडो गत मङ्गलबार बिहानदेखि नै चिसो सिरेटो लगातार चल्न थालेपछि महोत्तरीका गाउँनगर बस्ती अत्यन्त प्रभावित भएका छन् । अहिले जिल्लाको मध्य र दक्षिणी भेगमा दिनहुँ बाक्लो हुस्सुसमेत लाग्ने गरेको छ ।
तुषारोसहितको चिसो सिरेटोले सर्वसाधारण बाहिर निस्कन नसकेपछि बजारमा चहलपहल घटेको छ । एक सातादेखिको चिसोले बन्द व्यापार मात्र नभएर कृषि कार्य पनि प्रभावित भएका छन् । लगातारको चिसो सिरेटोले घरपालुवा पशु बस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको महोत्तरीका पशुपालक किसानको भनाइ छ ।
बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्न पर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नपर्ने अवस्था बनेको छ ।चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी महिला र ससाना नानीहरुको स्याहारसम्भार कठिन भएको छ ।
चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुडा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीयतहसँग सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।