रमेश विश्वकर्मा
गुुल्मी । कोदो,मकै, धान उत्पादन गर्ने किसानलाई कृषक भन्न कि नभन्ने ? गुल्मीका किसानहरुले एक कार्यक्रममा उठाएको प्रश्न हो यो । उनीहरुले सरकारले कृषकहरुका नाममा अनुदान दिएका समाचारहरु आइरहे पनि आफुहरुले कुनै पनि अनुदान नपाएको भन्दै कोदो, मकै, धान उत्पादन गर्ने मानिसहरु कि कृषक नै होइनन् भन्दै प्रश्न गरेका थिए ।
जिल्लाको सदरमुकाम तम्घासमा राष्ट्रिय किसान आयोगले आयोजना गरेको दुई दिने अभिमूखीकरण कार्यक्रममा सहभागी कृषकहरुले खेतीपाती गर्दै आए पनि सरकारको नजरमा कृषक वर्ग भित्र नपरेको भन्दै गुनासो गरेका थिए । कार्यक्रममा चन्द्रकोट गाउँपालिकाकी कृषक रामकुमारी कार्कीले मकै, कोदो, धान लगाउँदै आएका किसान कृषक हुन कि होइनन् भन्दै प्रश्न गरेकी थिइन । उनले भनिन् ‘यदि कृषक हुन भने किन सरकारले तिनीहरुलाई अनुदान दिदैन ?’ कार्यक्रममा कृषकहरुले शुद्ध किसान छनौट गर्न माग गरेका छन् । ‘अनुदान वास्तविक कृषकले पाएनन् । बजारको ग्यारेन्टी हुनुपर्यो ।
कृषक अपमानित हुनुभएन । किसानको समस्या कसले बुझ्ने, रेसुङ्गा नगरपालिका १२ का कृषक कृष्ण बस्नेतले भने । कृषकलाई ऋण प्रदान गरे पुग्छ । उनले जंगली जन्तुहरुलाई व्यवस्थापन गर्न आग्रह गर्दै लागतमा आधारित बाली बीमा नभई उत्पादनमा आधारित बीमा ल्याउनुपर्नेमा जोड दिए । कृषक बस्नेतले बजारीकरणको ग्यारेन्टी गर्न माग गरे । ‘हामीले उत्पादन गरेका वस्तुहरुमा विषादी मिसाएको भन्छ्न, तर विदेशी उत्पादन प्रयोग गर्ने गरेको देखिन्छ’ बस्नेतले भने । उनले कृषकको वर्गीकरण गर्नुपर्ने बताउँदै वास्तविक किसान को हो ? नबुझेको भन्दै प्रश्न गरे ? उनले कृषकहरुलाई अनिवार्य रुपमा परिचय पत्रको व्यवस्था गर्न माग समेत गरे ।
कृषकहरुले राखेका गुनासाहरुलाई सम्बोधन गर्दै राष्ट्रिय किसान आयोगका सदस्य एवं कृषि विज्ञ उदयचन्द्र ठाकुरले प्राप्त सुझाव एवं गुनासाहरुलाई सरकारको निति तथा कार्यक्रममा समावेश गर्न दरिलो सुझाव पेश गर्ने बताए । आयोगको आयोजनामा भएको जिल्लास्तरीय किसान संघ संगठन तथा संस्थाहरुको अभिमूखीकरण कार्यक्रमको शुक्रबार समापन गरिएको छ । कार्यक्रममा किसान संघ संगठन तथा संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखीय सहभागिता रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।