‘राहत शिक्षक उठ्दै छौँ जुरुक्क, सरकार हाम्रा माग पूरा गर खुरुक्क’



रमेश विश्वकर्मा
गुल्मी । ‘राहत शिक्षक उठ्दै छौँ जुरुक्क, सरकार हाम्रा माग पूरा गर खुरुक्क । सरकार सम्बोधन गर है हाम्रो पीडाको, किन हो हामीलाई ब्यर्थै चिडाको ।’ भन्दै राहत शिक्षक कृष्णप्रसाद घिमिरेले चर्चा बटुल्न सफल गीत गलबन्दी गीतको लयमा यो गीत गाउँदा सदरमुकाम तम्घासमा रहेको बालमन्दिरको हल गुञ्जायमान भयो । राहत शिक्षकहरु पनि स्वरमा स्वर मिलाएर यो गीतमा ताली पिट्दै थिए । सबैले एउटै स्वरमार्फत सरकारलाई खवरदारी गर्दै राहत शिक्षकलाई पनि स्थायी व्यवस्थापन गर्न माग गरेका छन् ।

नेपाल राहत शिक्षक जिल्ला कार्य समिति गुल्मीको दोश्रो जिल्ला अधिवशेनमा सहभागी राहत शिक्षकहरुले गीत मार्फत सरकारलाई सौतेलो व्यवहार प्रर्दशन नगर्न आग्रह गरेका हुन् । उनीहरुले विद्यालयमा काम गर्ने राहत शिक्षकहरुलाई सरकार र सरकारका विभिन्न संस्थागत कानुनी प्रावधानहरुले विभेद गरेको महशुस गरेको बताए ।

नेपाल राहत शिक्षकका केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले आफूहरुको आन्दोलन अधिकारमा आधारित आन्दोलन भएको बताए । उनले शिक्षा नियमावली ऐन २०२८ को सातौं संशोधनबाट शुरु भएको आन्दोलन अहिले ९ औं संसोधन भईसक्दा पनि राहत शिक्षकहरुको व्यवस्थापन हुन नसकेको बताएका हुन् । विभिन्न चरणमा गरी तीन पटक शिक्षा मन्त्रालयमा सम्झौता गरेको बताउँदै अधिकारीले सरकारलाई यसतर्फ गम्भीर बन्न आग्रह गरे । उनले भने ‘राहत शिक्षकसँग विसं २०७५ फागुन २२ गते सरकारले गरेको सम्झौता हुँबहु विधेकमा ल्याउनुपर्छ ।’ त्यसो नभए नेपाल शिक्षक महासंघ मार्फत आन्दोलनमा जाने बताए ।

सामुदायिक विद्यालयमा भएका उपलब्धी राहत शिक्षकका कारण भएको बताउँदै एसइईलाई मात्रै केन्द्रित गरेर सामुदायिक र निजी विद्यालयबीच गरिने तुलना नै नभएको उल्लेख गरे । नेपाल राहत शिक्षक जिल्ला कार्य समितिका अध्यक्ष रामबहादुर बस्नेतले अहिलेसम्म समितिले गरेका उपलब्धीका विषयमा प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख ईश्वरीप्रसाद सुवेदी, केन्द्रिय महासचिव कुमार बजगाई, उप–सचिव डम्मर राई शिक्षक महासंघका जिल्ला अध्यक्ष रोहित भण्डारी लगायतको उपस्थिति रहेको थियो । उपाध्यक्ष झविन्द्रप्रसाद घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव गोर्कणप्रसाद अर्यालले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्