काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आउँदो ६ महिनासम्म करीब ५ लाख बेरोजगारलाई रोजगारी दिन तयारी थालिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १ सय दिन रोजगारी प्रत्याभूति गर्न सामुदायिक आयोजना सञ्चालन तथा व्यवस्थापन कार्य्विधिअनुरुप स्थानीय तहसँग आयोजना माग गरिएकामा त्यसको संकलनको काम पूरा भइसकेको छ ।
मन्त्रालयका प्र्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने उपसचिव डा.लोकनाथ भुसालको अनुसार त्यस्ता माग भई आएका आयोजना कार्यान्वयन गरी सय दिने रोजगारी प्रदान गर्न आवश्यक रकम पठाउने तयारी भइरहेको छ ।
उनका अनुसार बेरोजगार सूची निर्धारण तथा प्राथमिकीकरण मार्गदर्शन जारी भइसकेकाले यसपालि सही रूपमा आयोजनाहरू कार्यान्वयनमा जाने र सूचीकृत बेरोजगारले रोजगारी पाउनेछन् ।
सरकारले बेरोजगारलाई वर्षमा कम्तीमा सय दिन काम दिने र काम दिन नसके वार्षिक २५ हजार ८५० रुपैयाँ भत्ता दिने गरी गतवर्ष निकै तामझामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।