राप्रपासँग गठबन्धन तोडिएपछि झापाका सबै क्षेत्रमा कांग्रेसका एकलौटी उम्मेद्वार



सैघाली खबर
झापा,१६ कार्तिक

मंसीर २१ गते दोश्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता हुँदैछ । उम्मेद्वारी दर्ताको अघिल्लो रातीसम्म लगाएर दलहरुले सबै उम्मेद्वारको नाम टुगों लगाएका छन् । आज बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म सम्बन्धित् निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराउने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । प्रदेश सभाका लागि निक्कै रस्साकस्सी चलेको झापामा नेपाली काँग्रेसले राती अबेर सम्ममा उम्मेद्वार टुगों लगाएको छ ।

राप्रपासंगको गठबन्धन तोडिएपछि झापाका सबै क्षेत्रमा कांग्रेसले एकलौटी उम्मेद्वार उठाएको छ । झापामा कांग्रेसले प्रतिनिधि सभा तर्फ क्षेत्र नं. १ मा विश्वप्रकाश शर्मा, क्षेत्र नं २ मा उद्धब थापा, क्षेत्र नं. ३ मा कृष्णप्रसाद सिटौला, क्षेत्र नं. ४ मा देउकुमार थेवे र क्षेत्र नं. ५ मा डा. खगेन्द्र अधिकारीलाई उठाएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले झापा क्षेत्र नं. १ मा माओवादी नेता सुरेन्द्र कार्कीलाई उठाउने भएको छ । झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मा र बाम गठबन्धनका सुरेन्द्र कार्कीबीच प्रतिस्पर्धा हुने भएपछि अझ चर्चाको विषय बनेको छ । क्षेत्र नं. २ मा बाम गठबन्धनले यो समाचार तयार पार्दासम्म अझै उम्मेद्वारको टुगों लगाइसकेको छैन । क्षेत्र नं. २ का लागि पोलिटब्युरो सदस्य अग्नी खरेल र प्रदेश सदस्य पवित्रा खरेल मध्ये एक जनाको नाम आज बिहान अध्यक्ष केपी ओलीले घोषणा गर्ने एमाले स्रोतले जनाएको छ ।
त्यस्तै, बाम गठबन्धनले झापा ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई सहयोग गर्ने भएको छ भने क्षेत्र नं ४ मा लेबी साँवा र क्षेत्र नं. ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेद्वार बन्नु हुनेछ । ओलीका प्रतिस्पर्धी नभेटेको कांग्रेसले लामो कसरतपछि डा. खगेन्द्र अधिकारीलाई उठाउने निर्णय गरेको हो । अधिकारी त्रिचन्द्र कलेजमा प्राध्यापन गर्दै आउनुभएको थियो । टिकट पाउने पक्का भएपछि अधिकारीले कलेजमा राजीनामा बुझाइसक्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्