बांकेमा उम्मेदवारी मनोनयनको सम्पूर्ण तयारी पूरा



सैघाली खबर
नेपालगञ्ज ,१६ कार्तिक

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाँकेमा मनोनयन दर्ताको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । मनोनयन दर्ताको लागि आज बिहान १० बजेबाट साँझ ५ बजेसम्मको समय तय गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सँगै प्रत्येक दललाई पनि मनोनयनका लागि समय निर्धारण गरिएको क्षेत्र नम्वर १ का निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिनुभयो । बिहान १० बजे स्वतन्त्र उम्मेदवाहरुले मनोनयनको समय माग गरेका छन् । नेपाल मजदुर किसान पाटी, राष्ट्रिय जनर्मोचाले र राष्ट्रिय रापप्रपा राष्ट्रवादीले १२ बजे, १ बजे राप्रपाले, साँढे १ बजे नेपाली कांग्रेस, २ बजे संघीय समाजवादी फोरम, साँढे २ बजे एमाले÷माओवादी गठबन्धन र ३ बजे विवेकशिल साझा तथा नयाँ शंक्तीले मनोनयन दर्ता गर्ने जनाइएको छ ।

मनोनयन दर्ताको लागि सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो । आज हुने मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न गराउन मुख्य निर्वाचन कार्यालयले जिल्लाका सम्पूर्ण राजनीतिक दल, प्रहरी प्रशासन, सञ्चारकर्मीसँग हिजो अन्तरक्रिया समेत गरेको थियो । मनोनयन दर्ताको लागि खटाइने आवश्यक अधिकृत तथा सहयोगी कर्मचारी र कार्यालय सहयोगीहरुको समेत प्रवन्ध मिलाई सकिएको सुवेदीले जानकारी दिनुभयो ।

सुरक्षाको संवेदनशीलता हेर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयको आवश्यक सुरक्षा र सुरक्षाकर्मीसमेत परिचालनको तयारी भइसकेको उहाँले बताउनुभयो । स्थानीय तह निर्वाचन भन्दा यसपटक झण्डै ३० हजार मतदाता थपिएका छन् । मतदाता थप भएपछि मतदान केन्द्र पनि थप भएका छन् ।

निर्वाचन आयोगले एक हजार ६४ मतदाता रहेको क्षेत्रमा एउटा मतदान केन्द्र बनाउने मापदण्ड बनाएअनुसार बाँकेमा ३२७ मतदान केन्द्र तोकिएको छ । बाँकेमा कुल मतदाताको संख्या २ लाख ७६ हजार ७ सय १८ रहेको छ । क्षेत्र नम्बर १ मा ९८ हजार ३२०, मतदाता रहेका छन् । क्षेत्र नम्बर २ मा ८२ हजार ९ सय ४९ मतदाता छन् भने क्षेत्र नम्बर ३ मा ९५ हजार ४ सय ४९ मतदाता छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्