सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ ।
साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ ।
नेकपाले पुस २३ गते केन्द्रीय कमिटी बैठक डाकेको छ । नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय कमिटी छ । केन्द्रीय कमिटी बैठकबाट पनि यो प्रस्ताव पारित भएमा गौतम उपाध्यक्ष हुनेछन् ।
नेकपामा उपाध्यक्ष रहने व्यवस्था थिएन । सचिवालय बैठकले उपाध्यक्ष बनाउने निर्णय गर्दै विधान संशोधन प्रस्ताव गरेको थियो । नेकपामा अब एक उपाध्यक्ष रहने विधानमै व्यवस्था हुने भएको छ ।
मंसिर २९ गतेदेखि चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलले राखेका बेग्लाबेग्लै प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका थिए । बैठकले अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत फिर्ता ल्याउन र सीमा विवाद हल गर्न पार्टीले पुनस्च ठोस पहल गर्नुपर्ने पनि निर्णय गरेको छ ।
सडक दुर्घटना बढेकोमा चिन्ता व्यक्त गर्दै नेकपा स्थायी कमिटीले दुर्घटना न्युनिकरणका लागि ठोस योजना बनाइ कार्यान्वयनमा ल्याउन सरकारलाई पनि सुझाव दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।