काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघल केही दिनपछि औपचारिक रुपमा शुरु हुने ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन आफ्ना तर्फकाट भूमिका खेल्न सदस्य व्यवसायीहरुलाई आग्रह गरेको छ । पर्यटनमन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा गठित नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा संघ सदस्य रहेको छ । नेपाल सरकारले आगामी वर्ष कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ ।
समितिको बैठकमा सहभागी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले रोजगारीमा जाने कामदारहरुलाई नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित टोपी र टिसर्ट लगाई पठाउने विषयमा सबै व्यवसायीहरुलाई आग्रह गरिरहेको जानकारी दिए ।
संघका महासचिव सुजित श्रेष्ठले आइतबार विज्ञप्ति जारी गर्दै व्यवसायीले विदेशस्थित रोजगारदाता कम्पनीमा डिमाण्ड लगायत अन्य प्रयोजनका लागि गर्ने पत्राचारमा भ्रमण वर्ष २०२० को लोगो अनिवार्य प्रयोग गर्न व्यवसायीलाई आग्रह गरेका छन् । त्यसैगरी संघले व्यवसायीहरुलाई सरकारद्वारा तय गरेको भ्रमण वर्ष २०२० को लागो राख्नुका साथै कम्पनीको कार्यालयमा प्रयोग गरिने लेटरप्याड, भिजिटिङ कार्ड लगायतका अफिसियल सामग्रीमा नेपाल भ्रमण वर्षको लोगो राख्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।
नेपाल भ्रमण वर्षको उद्घाटन समारोहमा संघको तर्फबाट व्यवसायीहरुलाई पास उपलब्ध गराइने भन्दै संघका तर्फबाट मार्चपास गर्ने कार्यक्रम राखेको छ । मार्चपासमा सहभागी हुन चाहने म्यानपावर कम्पनीले नाम टिपाई संघबाट निःशुल्क प्रवेश पास लिन पनि संघले आग्रह गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।