काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा नै वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या २ लाख नाघेको छ । वैदेशिक रोजगार विभागले निकालेको प्रतिवेदन अनुसार साउन महिना देखि मङ्सिर महिना अवधिसम्म रोजगारीको लागि कुल २ लाख १ सय ७ नेपाली विदेशिएका हुन् ।
गत कार्त्तिक महिनामा ५१ हजार ५ सय, असोजमा १९ हजार ५ सय ४२, भाद्र महिनामा ३९ हजार ८ सय ४७ र साउन महिनामा ३२ हजार ५ सय ५७ जना बिदेशिएका छन् । गत मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत, तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० नेपाली वैदेशिक रोजगारीमा विदेशिएका छन् । मंसिरमा रिईन्ट्री मार्फत २८ हजार ६ सय ३७ जना र संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या २४ हजार २९ रहेको छ ।
मंसिरमा श्रम स्वीकृति लिनेमध्ये सबै भन्दा बढी साउदी अरबको लागि रहेको छ । मंसिरमा साउदीको लागि ६ हजार १ सय ८२ जनाले श्रम स्वीकृति लिएका छन् । साउदीपछि नेपाली कामदार को रोजाई क्रमशः यूएई, मलेसिया र कतार रहेको छ । मंसिरमा यूएको लागि ५ हजार ४ सय ३५, मलेसियाको लागि ४ हजार ९ सय ५ र कतारको लागि ३ हजार ६ सय ९७ जनाले श्रम स्वीकृति लिएका छन् ।
पहिलोमा ब्ल्यू ओसियन
मंसिर महिनामा सबैभन्दा धेरै श्रम स्वीकृति लिने मध्ये ब्ल्यू ओसियन पहिलो स्थानमा रहेको छ, जसले गत महिना ४ सय ८५ जनाको श्रम स्वीकृति लिएको छ । त्यस्तै गरि दोश्रोमा रहेको एस.ओ.एस सर्भिसेस् प्रा.लि. ले ४ सय ३२, तेश्रोमा रहेको नौकरी नेपाल प्रा।लि।ले ३ सय ६८ र चौंथोमा रहेको ट्रान्सवल्र्ड म्यानपावरले ३ सय ४४ जनाको श्रम स्वीकृति निकालेका छन्
पाँचौमा रहेको सान नेपाल प्रा।लिले ३ सय २४ जना, छैटौमा रहेको भिजन एण्ड भ्यालु प्रा.लिले २ सय ८० जना, सातौंमा रहेका गल्फ म्यानपावर प्रा.लि र कोशी इन्टरनेशनल सर्भिस प्रा.लि ले २५९र२५९ जनाको श्रम स्वीकृति लिएका छन् । आठौंमा परेको प्याराडाइज इन्टरनेशनल २ सय ५८ जना, नवौंमा रहेको दि रिभर ओभरसिजले २ सय ५२ र २ सय २२ को श्रम स्वीकृति लिएर मोन्टेज ओभरसिज प्रा.लि. धेरै कामदार पठाउने म्यानपावर सूचीको दशौं नम्बरमा परेको छ ।
अदक्ष कामदार बढी
मङ्सिर महिनामा श्रम स्वीकृति लिएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार रहेका छन् । गत महिना ३१ हजार १८७ अदक्ष कामदार विदेश पुगेका छन् । त्यस्तैगरी सीपयुक्त जनशक्ति १९ हजार ७९६, अर्धसिप भएका ५ हजार ७४५, व्यवसायिक सिप भएका ७५ जना र विशिष्ट सिप भएका ७ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ । सरकारले आगामी ५ वर्ष भित्र बाध्यकारी बैदेशिक रोजगार अन्त्य गर्ने लक्ष्य लिएको छ तर त्यस अनुरुप काम हुन नसक्दा युवाहरु बैदेशिक रोजगारीमा जाने क्रम भने रोकिएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।