के महिला सहभागिता विना विकास सम्भव छ त ?



पछिल्लो समय नेपाली महिलाहरु राज्यका हरेक निकायमा अग्रसर हुंदै आएका छन् । राजनीती, शैक्षिक क्षेत्र, वैदेशिक रोजगार, खेलकुद लगायत विभिन्न क्षेत्रमा आबद्ध छन् । कतिपय ठाउँमा महिलाहरुले एकदमै राम्रो काम गरेर ईतिहाँस रचेका छन् भने कतिपयले घृणित काम गरेर समाजमा नराम्रो छाप छोडेका छन् । जसका कारण पुरुष प्रधान हाम्रो समाजमा महिलाका कारण घर बिग्रियो, समाज बिग्रियो, देश बिग्रियो आदि ईत्यादि भन्दै महिलामाथी लान्छना लगाउने पुरुषहरुको संख्या कम छैन । तर एक दुईजना महिलाहरुका नराम्रा कामको उदाहरण दिंदै सवै महिलाहरुलाई एउटै घानमा हाल्नु उचित होला त ? के महिला सहभागिता विना विकास सम्भव छ त ?

विकास भनेको के हो त ?

विकास भनेको परिवर्तन हो । यो निरन्तर चलिरहने प्रक्रिया हो । तर यसको गति चाहिँ एकनासको हुँदैन । कुनै पनि एक क्षेत्रको परिवर्तनले मात्र विकासलाई समेट्दैन । यसले सबै लिङ्ग, वर्ग र क्षेत्रलाई समेट्नुपर्छ । अहिले महिलाको सहभागिता विनाको विकास संभव छैन भन्ने बहस चाहिँ चलेको छ, तर व्यवहारमा महिलाको अपेक्षाकृत सहभागिता चाहिँ हुन सकेको छैन । हुन त संसारमा कतै पनि महिला पुरुषको शतप्रतिशत समान सहभागिता र अवसरमा पहुँच छैन । समान अवसर र पहुँच नहुनुमा परम्परागत भूमिका, कार्यशैली र कार्यक्षेत्रको निर्धारणले भूमिका खेलेको छ । तर सहभागिता र पहुँचको मात्रा भने विकसित मुलुक र विकाशोन्मुख मुलुक बीच अवश्य फरक छ । विकसित मुलुकमा महिला सहभागिता तुलनात्मक रुपमा बढी छ ।
विकासमा महिला सहभागिता

पछल्लो समय चर्चामा आएको अवधारणा विकासमा महिला सहभागिता हो । महिलाको सहभागिता विना आधुनिक विकास अपूर्ण हुन्छ । मानव अधिकारमुखी विकास पद्धति नै आधुनिक विकास पद्धति हो । यो पद्धतिले सबै लिङ्ग, वर्ग र क्षेत्रको विकासमा सहभागिताको सुनिश्चिता गर्दछ । समतामूलक समाज नै समन्यायिक विकासको आधार हो । आधुनिक मान्यताअनुसार विकास भनेको भौतिक संरचनाको निर्माण र आर्थिक वृद्धि दर मात्र होइन । बरु सबै वर्ग र लिंगको सशक्तिकरण महत्वपूर्ण हो । महिलाको सन्दर्भमा महिलाको शिक्षा, स्वास्थ, सहभागिता, अधिकारको प्रत्याभूति र राजनीतिक सहभागिता आदि नै विकास हो । विकासमा जब हरेक वर्गको अपनत्व र हिस्सा हुन्छ तब मात्र विकासको अर्थ हुन्छ । विकासको प्रक्रियामै सहभागी नभएसम्म विकासमा हिस्सा र अपनत्व हुँदैन ।

महिलालाई विकासको मूलधारमा प्रवेश गराउने

हाम्रो सन्दर्भमा परम्परागत बुझाई, दृष्टिकोण र मान्यताहरुका कारण महिलालाई विकासको मूलधारमा प्रवेश गराउन सकिएको छैन । हाम्रो समाज पुरुषलाई मान महिलालाई माया भन्ने मान्यता राख्छ । महिलालाई अवसर र भूमिका होइन माया र दयाका पात्र बनाउँछ । यसलाई चिर्न हरेक क्षेत्रमा महिला सहभागिता गराई विकासलाई समन्यायिक र मानवीय बनाउनुपर्छ । यसको सुरुवात घर परिवारबाट हुनुपर्दछ । नेपालमा परम्परागत धर्म, संस्कृति, विभेद, श्रमको लैंगिक विभाजन, समन्यायको अभाव, मूलप्रवाहीकरण हुन नसक्नु, लैगिंक दृष्टिकोण, लैंगिक हिंसा महिलाहरु विकासमा पछाडि पर्नुका कारण हुन् ।

छोरीलाई अरुको घर जाने र छोरा चाहिँ स्वर्गको ढोका खोल्ने बुझाई अझै समाजबाट हटेको छैन । छोरालाई सम्पत्ति र छोरीलाई दायित्व बुझ्ने समाज छ । पछिल्लो समय विकासमा महिला सहभागिता बढे पनि यो संख्यामा सीमित छ । सहभागिताको सवाल संख्यामा भन्दा शक्तिमा खोज्नुपर्छ । सबै ठाउँमा संख्या ठूलो हुँदैमा शक्ति ठूलो हुँदैन । शक्तिको निर्धारण काहिँ संख्याले, काहिँ स्वरले, काहिँ अर्थले र काहिँ परम्परागत मूल्य मान्यताले गर्छ । कतिपय ठाउँमा उल्लेख्य संख्यामा महिलाको उपस्थिति हुन थाले पनि निर्णयमा हाबी भने फेरि पुरुषकै छ । महिलाहरु किनारका साक्षी मात्र बनेका छन् । महिलालाई कम महत्व दिने गरिएको छ । सम्मानजनक प्रतिनिधित्व अझै भएको छैन । त्यसैले सहभागिता मात्र होइन अर्थपूर्ण सहभागिताको बहस आवश्यक छ ।

अर्थतन्त्रको महत्वपूर्ण हिस्सा महिलाको नियन्त्रणमा

विश्वलाई हेर्ने हो भने आज विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्सा महिलाले ओगेटका छन् । राजनीतिक शक्ति र परिवारिक निर्णयमा पनि महिला सहभागिता बढेको छ । आर्थिक क्रियाकलापमा महिला प्रमुख देखिन्छन् । खरिदमा महिला सहभागिता बढी छ । वस्तुको विज्ञापनमा महिला नै प्रमुख रुपमा देखिन्छन् । सम्पत्तिमा पनि महिलाको नियन्त्रण बढेको छ । नेपालमा पनि विकासका लागि महिला सचेतना बढेको छ । राजनीतिक गतिविधिमा महिलाहरुले भाग लिन थालेका छन् ।

महिलाको विकासमा सहभागिता भएमा महिला विकास हुने मान्यताले ठाउँ पाउन थालेको छ । उनीहरुमा सकारात्मक परिवर्तनहरु आएका छन् । विगतमा स्वतन्त्रता र समानतामा सीमित महिला मुद्धा अहिले विकासमा गएर जोडिएको छ । राजनीतिले देश चल्छ, नीति नियम बनाउँछ समग्र क्षेत्रमा पहुँच राख्दछ त्यसैले राजनीतिमा महिला सहभागिता नै विकासको मूलधारमा महिला सहभागिताको अर्थमा बुझ्न थालिएको छ । महिला स्वतन्त्रता, समानता, समता, सहभागिता, महिला आरक्षण, सशक्तीकरण आदि महिलाका सवालमा जल्दाबल्दा विषय भएका छन् । सेवामा महिलाको पहुँच वृद्धि भएको छ । लैंगिक समानता अर्थात् बराबर हिस्साको बहस हरेक ठाउँमा चलेको छ ।

कानुनमा समानता

नेपालको संविधानले सबै नागरिक कानुनको अगाडि समान हुने, लिंगकोे आधारमा भेदभाव नगरिने, महिला पुरुष वीच समान कामको निमित्त पारिश्रमिकमा भेदभाव नगरिने, महिला वर्गको उत्थानका लागि विशेष कार्यक्रम ल्याइने, महिला वर्गको स्वास्थ्य, शिक्षा र रोजगारीको विशेष व्यवस्था गर्ने र महिलाको उत्थानको लागि सकारात्मक विभेदको नीति लिएको छ । महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धि, १९७९ को नेपाल पक्ष राष्ट्र बनेको सन्दर्भमा अन्तर्रा्ष्ट्रिय कानुनको समेत दायित्व नेपालसँग छ । विकासमा महिला सहभागिताको सवाल सशक्तीकरणसँग जोडिएको छ । समता अर्थात अवस्था हेरी पहुँच विस्तार र शक्ति वितरण, कम क्षमता भएकालाई विशेष प्राथमिकता र हरेक क्षेत्रमा सहभागिता नै सशक्तिकरण हो । महिला विकासको सामाजिक पक्ष, आर्थिक पक्ष, शैक्षिक पक्ष, प्रशासनिक प्राविधिक न्यायिक पक्ष आदिलाई राजनीतिक पक्षसँग जोड्नु आवश्यक छ । किनभने राजनीति छुट्टै विषय होइन, सबै विषयहरुको मिश्रण हो । राजनीतिले हरेक पक्षलाई छुन्छ । देश चलाउने नीति राजनीति हो । तर देश चलाउने नीतिमा राजनीति, अर्थनीति, समाज सबैको भूमिका हुन्छ । एउटा पक्षमा आएको परिवर्तनले महिला सहभागिता मान्न नसकिने हुँदा सबै पक्षमा सशक्तीकरण आवश्यक छ ।

महिलाहरु जैविक रुपमा फरक हुन् । तर लैङ्गिक रुपले पुरुष समान हुन् । त्यसैले महिलालाई पुरुष सँगसँगै अगाडि बढाउनुपर्छ । समाजमा सामाजिक न्याय र समानता कायम गर्न, विकास कार्यमा महिला वर्गलाई सिर्जनशील कार्यमा लगाउन, घर परिवारमा सहयोग, सामजस्यता र सहकारिताको भावना विकास गर्न, विकासमा महिला वर्गको विशेष अनुभव र सीपको उपभोग गर्न, महिलालाई परिवर्तनको संवाहकको रुपमा स्वीकार गर्न, महिला वर्गलाई सवलीकरण र सशक्तीकरण गर्न, अधिकारको सिद्धान्तलाई आत्मसात गर्न, महिला वर्गको नेतृत्व क्षमताको विकास गरी नीति निर्माणमा पहुँच पु¥याउन विकासमा महिला सहभागिता आवश्यक छ ।

यस अर्थ श्रीमान्ले श्रीमतीलाई, परिवारले छोरीलाई, सासूले बुहारी वा बुहारीले सासूलाई विभेद गर्दा त्यहाँ भएको हिंसाले सो परिवारलाई कमजोर बनाउँछ । परिवार कमजोर हुँदा समाज हुँदै देश मन्दविषको सिकार हुन पुग्छ । यही कुरा कुनै परिवारमा पुरुषमाथि पनि महिलाहरूले गरिरहेका हुन्छन् । कसैको क्षणिक आनन्द वा आवेगलाई शान्त बनाउन हिंसा गर्दा सबैलाई घाटा पुगिरहेको हुन्छ । यही कुरा अहिले नेपालमा जन्मने सबै नेपालीले बुझ्नुपर्छ, हृदयबाट नै हिंसामुक्त व्यक्ति बन्न सक्ने जागरण चलाउनुपर्छ अनि मात्र समतामूलक समाज निर्माण हुन सक्छ ।

यस्तो समाज निर्माण भएमा देशले उल्लेख्य प्रगति गर्न सक्छ । जनता हर्ष, उमंग, सुखसयलका साथ जीवनयापन गर्न सक्छन् । मुलुकको समृद्धिका लागि हिंसामुक्त समाज अपरिहार्य छ । हिंसा हुन नदिनका लागि सबैले आफूबाटै शुरूवात गर्नुपर्छ । त्यसैले महिला पुरुषले एक अर्काका नराम्रा कुरालाई बारम्बार कोट्याएर समय व्यतित गर्नुभन्दा राम्रा कामलाई प्रोत्साहन गरौं विकसित समाजको निर्माण गरौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्