एकै दिन पक्राउ परे ९६ चिनियाँ नागरिक




पर्यटक बनेर काठमाडौं आएका ९६ चिनियाँ नागरिक शंकास्पद गतिविधिमा संलग्न भएपछि प्रहरीले पक्राउ गरेको छ ।

ह्याकिङ तथा कम्प्युटरको माध्यमबाट विभिन्न अपराधमा संलग्न भएको आरोपमा ९६ चिनियाँ नागरिकलाई पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए ।

यसअघि समेत ह्याकिङमा चिनियाँहरू पक्राउ गर्दै आएकोमा यतिधेरै संख्यामा एकैपल्ट पक्राउ गरिएको पहिलो पटक हो । ‘कम्प्युटरको माध्यमबाट अपराध गरेको विशेष सूचनाको आधारमा काठमाडौंका विभिन्न स्थानबाट चिनियाँलाई पक्राउ गरिएको हो,’ उनले भने । पर्यटक भिसामा आएर ह्याकिङमार्फत ठगी गरेको सूचनाका आधारमा प्रहरीले चिनियाँलाई पक्राउ गरेको छ । पक्राउपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

‘आरोपी के अपराध गर्न नेपाल आएका हुन् ? के–के गरे ?’ अनुसन्धान गर्न चिनियाँ भाषा समेत बोल्ने दोभासे बोलाइएको एसएसपी थापाले बताए । आरोपी चिनियाँलाई अपराध अनुसन्धान महाशाखा, प्रहरी परिसर काठमाडौं र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।

गत भदौ १४ गते ६ जना चिनियाँ नागरिकलाई प्रहरीले एटीएम ह्याकिङ गरेर पैसा चोरी गर्दागर्दै पक्राउ गरेको थियो । प्रहरीले चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन लगायत ५ जनालाई सार्वजनिक गरेको थियो ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट भाग्न खोजेका सु लु सिङ भदौ १५ गते पक्राउ परेका थिए । आरोपीले नबिल बैंकको दरबार मार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभू बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए ।

पक्राउ परेका चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ९१ चिनियाँ युवान, २ सय ५० यूरो, ५ हजार क्याम्बोडिन मुद्रा र ८० हङकङ डलर फेला परेको थियो ।

नक्कली भिसा कार्ड १ सय ३२ थान, सक्कली भिसा कार्ड १८ थान, कार्ड प्रिन्टर मशिन १ थान, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १र१ थान प्रहरीले बरामद गरेका थिए । नेपाल राष्ट्र बैंकले हालसम्म १ करोड ६७ लाख रुपैयाँ ह्याक गरी चोरी भएको थियो ।

एटीएमबाट लुटिएको पैसा साट्न सहयोग गर्ने डेक्सो मनि एक्चेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनि एक्चेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र नेपालय मनि एक्सचेन्जकै म्यानेजर रेवती दवाडी पनि भदौ १६ गते पक्राउ परेका थिए । हात्तीसारस्थित होटल मायामनोहर बुटिकका २०१, ६०२ र ६०४ नम्बर कोठामा आरोपी चिनियाँ नागरिक बसेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्