चितवन । चितवनमा बनिरहेको मिनी पानीजहाज (क्रुज सिप) को नारायणी नदीमा सफल परीक्षण गरिएको छ । नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको ‘क्रुज सिप’लाई नदीमा चलाएर परीक्षण गरिएको हो ।
भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनको कभ्रेघाटमा लामो समय लगाएर बनाइएको ‘मिनी पानीजहाज’ को आइतबार दिउँसो गरिएको परीक्षण सफल भएको बताइएको छ ।
क्रुज सिप बनाइएको ठाउँबाट एक किलोमिटरसम्म परीक्षण गरिएको हो । सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गत वर्ष चैतबाट थालिएको थियो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
नर्बेजियन प्रविधि प्रयोग गरेर बनिरहेको क्रुज सिपमा भारतका प्राविधिकले काम गरिरहेका छन् । क्रुजमा दुईवटा इन्जिन छन् । क्रुजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजानेगरी डिजाइन गरिएको छ ।
क्रुज सिपमा अहिले विदेशी १५ जना चालक दलका सदस्य र प्राविधिक रहे पनि पछि नेपाली प्राविधिकले नै यसलाई चलाउने योजना बनाइएको छ । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा सय जना मानिस अट्ने क्षमता छ ।
दसैंअघि नै सञ्चालन गर्ने भनिए पनि डिजाइन परिवर्तन गरेर क्रुजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट थप गरिएको छ । क्रुजको डिजाइन परिवर्तन गरिएका कारण केही समय ढिलाइ भएको सञ्चालक रामचन्द्र कँडेलले बताए ।
क्रुज करिब प्रतिघण्टा ३५ किलोमिटर सञ्चालन हुनेछ । दुईतले ‘पानीजहाजमा माथिल्लो तलामा यात्रु रहनेछन् । बर्षात्को समयमा बन्द गर्ने तर अरू समयमा चलाउने योजना राखिएको छ । नदीमा पाँच मिटर गहिराई भए चल्न सक्नेगरी यो जहाज बनाइएको छ । माथिल्लो भाग देवघाट र तल्लो भाग गोलाघाटसम्म लैजान सक्ने लक्ष्य राखिएको छ ।
भ्रमण वर्ष २०२० को सु्वातसँगै क्रुज सिपलाई सञ्चालन गर्ने तयारी छ । नेपालको पहिलो पानीजहाजका रूपमा यसको चर्चा हुने गरेको छ । क्रुज सिपको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबाट संयुक्त रूपमा गराउने योजना रहेको कँडेलले बताए । राजधानीडेलीबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।