बेनी माधव बस्याल
पुष ८ । पश्चिम नवलपरासीको रामग्राम–४ सूर्यपुरा निवासी रामवृक्ष विक पुख्र्योली आरन पेशा विगत ४५ वर्षदेखि समाल्दै आइरहनुभएको छ । उहाँले यसै पेशाबाट हाल परिवारमा रहेका १७ जनाको दिनचर्या चलाउनु भएको छ । र यसै पेशाबाट दुई तले घर समेत बनाउन सफल भएको विकले बताउनुभयो ।
विकले १५ वर्षको उमेरदेखि नै आफ्नै आरन सञ्चालन गरेर हँसिया, कोदालो, खुर्पी, थाली, बन्चरो लगायतका समाग्री बनाउनुका साथै धार लागाउने गर्नुभएको थियो । तर अहिले समाग्रीहरु बनाएर विभिन्न जिल्लाहरुमा समेत निर्यात गर्नुभएको उहाँ बताउनुहुन्छ ।
उद्योगहरुमा चाहिने सामाग्रीहरु बनाउने तथा धार लगाउनका लागि उद्योगीहरु घरमै आउने गरेको विकले सुनाउनुभयो । उहाँले उत्पादन गरेका फलामका सामाग्रीहरु रुपन्देही, पाल्पा, नवलपुर तथा भारतसम्म पनि निर्यात गर्ने गरेको उहाँले बताउनुभयो
हाल मासिक रुपमा २० देखि २५ हजारसम्म बचत हुने गरेको र यसैबाट नातिनातिना पढाउने देखि घरायसी खर्च समेत धान्ने गरेको उहाँले बताउनुभयो । यति राम्रो पेशा हुँदा पनि बढ्दो आधुनिकिरणले गर्दा आफ्नै छोराहरुले यो पेशा अङ्गाल्न नमानेकाले विकले चिन्ता व्यक्त गर्नुभयो । विकको आम्दानीको श्रोत भनेकै आरान पेशा भएकाले आफ्नो पाखुरी चलुनजेल पेशा अङ्गाल्ने समेत बताउनुभयो ।
यस्तै सुनवल नगरपालिका–४ रमवापुरका नविन पुनले आरनमा काम गर्न बर्षको एक पटक मात्र गएको स्मरण गर्नुभयो । उहाँको घरबाट करिब सय मिटर नजिकै आरन पेशा अंगालेका ६५ वर्षीय ज्योति बिश्वकर्माको आरन छ, बिगत १५ बर्षदेखि आरनको काम गर्नु भएको छ ।
पुनले आधुनिक भाँडाको प्रयोग, जग्गा जमीन नै प्रायः जसो थोरै भएपछि कुटो कोदालो नचाहिने, गाई भैंसी बाख्रा पाल्न छाडेसँगै हँसिया खुर्पा आवश्यकता नभएको र सबैले ग्यासको प्रयोग गर्ने गरेको हुनाले बन्चरो समेत नचाहिएको र चाहिए मागेरै काम गर्ने गरेको बताउनुभयो ।
हाल आरनको काम गर्न गाउँमा नयाँ पुस्ताका कोही पनि छैनन् र भएपनि पुराना पुस्ताले धानिरहेका छन् । आरन पेशामा लागेर आम्दानी नदेखेपछि गाउँका युवाहरु बैदेशिक रोजगारीमा वा अन्य पेशामा पलायन भएका छन् ।
सुनवल नगरपालिका–४ रमवापुरका ज्योति बिश्वकर्माका छोरा बुद्ध विश्वकर्माले सानो उमेर देखिनै आरन पेशामा आफ्ना वृद्ध बुबालाई काम गर्न साथ दिइरहनुभएको थियो तर विगत तीन बर्ष पहिले देखि अन्य पेशामा पलायन भएको उहाँका बुबा ज्योति बिश्वकर्माले बताउनुभयो ।
छोरा बुद्ध विश्वकर्माले भन्नुभयो, “अब बाबुले गरेको आरन पेशा नै गर्न हुन्थ्यो नि, त्यसमा आम्दानी पनि छैन, लगानी गर्न आफूसँग पूँजी पनि छैन, अहिले त फलामसम्बन्धी काम गर्ने ठूला–ठूला पसल खुलेको हुनाले परम्परागत पेशा वृद्ध बुबाको काँधमा छाडेर अन्य पेशामा पलायन भएको हूँ ।”
ज्योति बिश्वकर्माले बिगतमा यही पुख्र्यौली आरन पेशाबाट ६ जनाको परिवार पालेको तर आजभोलि आम्दानी निकै घटेको हुदाँ यो पेशाबाट धेरै विस्थापित भएको बिश्वकर्माले बताउनुभयो । लामो समयदेखि हँसिया, खुर्पा, बञ्चरो बनाएर परिवार पाल्दै आउनुभएका उहाँले बजारमा आएको आधुनिक सामग्रीका कारण यो पेशा सङ्कटमा परेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “बजारमा आधुनिक हातहतियार र भाँडाकुँडा भित्रिने क्रम बढेसँगै पेशा नै सङ्कटमा पर्न थालेको छ । विगतमा यही पेशाबाटै राम्रोसँग घरखर्च चलिरहेको थियो । तर अहिले ती सामग्री नै बिक्री हुन छाडेपछि यो पेशा छाड्ने वा जोगाउने दोसाँधमा पुगेको बताउनुभयो ।”
फलामलाई आगोमा पगालेर बनाइने सामग्री र बजारमा आयातीत सामग्रीको गुणस्तरमा धेरै नै फरक भए तापनि त्यसको महत्व नबुझेर मानिसहरुले आयातीत सामग्री प्रयोग गर्न थालेको उहाको गुनासो छ । विगतमा यही पेशाको माध्यमबाट परिवार पाल्दै आएपनि अबको पुस्ता यो पेशाबाट बाँच्न नसक्ने अवस्थामा पुगेको बिश्वकर्माको भनाइ छ । फलामलाई कोइलामा ताप दिई आकार–प्रकार दिएर बनाइने खुर्पालगायतका औजार बलियो भए तापनि समयको परिवर्तनसँगै विस्थापित भएर जाने क्रममा रहेको उहाँको भनाइ छ ।
दलितको परम्परागत सीप पछिल्लो समयमा लगानी गर्न सक्ने अन्य जातिले समेत सञ्चालन गर्न शुरु गरेपछि दलित समुदाय पलायन हुनुपरेको उहाँले तर्क गर्नुभयो । सामाजिक अपमान र राज्यकोसमेत सहयोग नहुँदा दलित युवा परम्परागत सीपमूलक व्यवसायप्रति आकर्षित नभएको विश्वकर्माको भनाइ छ ।
साथै उहाँले “राज्यको असहयोगका कारण दलित समुदायबाट यो पेशा खोसिएको छ, दलित समुदायले गर्दै आएको पेशा खोसिएको हुँदा उनीहरुलाई पुनः आफ्नै पेशामा फर्काउन राज्यले लगानी गर्नुपर्ने आवश्यकता रहेको छ र आरन पेशा गरिरहेका दलित समुदायलाई अन्यसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै सरकारले तालिम र अनुदानको व्यवस्था गर्नुपर्ने समेत बताउनुहुन्छ । ”
यो समाचार ,रेडियो परासीबाट साभार गरिएको हो

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।