पोखरा । नेपालमा हुने धेरैजसो फ्रेन्चाइजी लिगहरुमा फाइनलमा पुग्ने टोलीमध्य एक शरद भेषावकर नेतृत्वको टोली हुन्छ । शरदले कप्तानी गरेको हरेक टोली हालसम्म नेपाली फ्रेन्चाइजी लिगहरुको फाइनलमा पुग्न सफल छ । शरद नेपाली फ्रेन्चाइजी क्रिकेट प्रतियोगितामा सफल कप्तानको रुपमा पनि चिनिन्छन् । शरदको फाइनल छबि भने योपटक समाप्त भएको छ ।
सोमबार भएको पीपीएलको आफ्नो अन्तिम लिग खेलमा शरदको टोली धनगढी ब्लुजसँग फराकिलो अन्तरले पारजित हुँदै पोखराको फाइनल यात्रामा पूर्णविराम लाग्यो । पोखरा पीपीएलको पहिलो संस्करणको उपाधि विजेता टोली हो । पोखराले गत सिजन फाइनलमा पारसको टोली चितवन राइनोजलाई पराजित गर्दै उपाधि उचालेको थियो ।
पहिलोपटक फाइनल नपुग्दा समर्थक भने खुसी छैनन् । त्यसो त अघिल्लो संस्करणको विजेता टोली लिग चरणबाटै बाहिरिनु अचम्मको कुरा पनि हो । त्यसमाथि शरदको टोली फाइनलमा पुग्न नसक्नु अर्कोतर्फ आफैँमा आचार्यजनक कुरा भएको खेलाडीहरु नै बताउँछन् । लिग चरणबाटै बाहिरिएपछि शरदले हरेक लिगहरुमा फाइनल पुग्नैपर्छ भन्ने नहुने बताए ।
उनले टि–ट्वान्टी क्रिकेटमा जे जस्तो पनि नतिजा आउने भएकाले त्यसलाई सहज रुपमा लिनुपर्ने बताए । “मैले यो पटक फाइनलमा स्थान बनाउन सकिन । सबै फ्रेन्चाइजी प्रतियोगितामा फाइनल पुग्छु भन्ने छैन । योपटक फाइनल पुग्न सकिन यसलाई मैले केही नयाँ कुरा सिक्ने अवसरको रुपमा लिएको छु । नयाँ संस्करणमा नयाँ तरिकाले आउने छु,” शरदले भने ।
घरेलु टोलीको रुपमा रहेको शरदको टोली फाइनलमा नपुग्दा यो संस्करणको फाइनल खेलमा भने केही रोमाञ्चकता घट्ने अनुमान गरिएको छ । पीपीएलको लिग चरणको अन्तिम दुई खेल बाँकी रहँदा दुई टोलीले अघिल्लो चरण प्रवेश गरिसकेका छन् भने एक टोलीको प्लेअफ सम्भावना बाँकी छ ।
कहाँ चुक्यो शरदको टोली पोखरा ?
कमजोर ब्याटिङ– शरदको पोखरा पल्टन साविकको विजेता टोली हो । गत सिजन पोखराले चितवनलाई पराजित गर्दै उपाधि उचालेको थियो ।
साविक विजेता तथा धरेलु टोलीको रुपमा पहिलो खेल खेलेको पोखराले उपाधि दाबेदारको रुपमा रहेको टोली काठमाडौं गोल्डेन्स वारियर्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नयाँ संस्करणको उपाधि दावेदारको रुपमा आपूmलाई पनि प्रस्तुत गरेको थियो ।
पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको पोखरा दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । पहिलो दिन जस्तो खेल भने पोखराले प्रदर्शन गर्न सकेन । दोस्रो खेलमा पोखराले झनै कमजोर प्रदर्शन गर्यो । टस हारेर चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा अल आउट हुँदै १०७ रन बनायो ।
उक्त रन चितवनले १४ ओभर ५ बलमा चार विकेट गुमाउँदै पूरा गर्यो । उक्त खेलमा ओपनरमा आएका कुशल भर्तेलले १० रन बनाएर आउट हुँदा त्यसपछिका दुई ब्याट्सम्यानले केही आशलाग्दो प्रदर्शन गरे पनि बाँकी पाँच ब्याट्सम्यान दोहोरो रन नबनाउँदै आउट भएका थिए ।
तेस्रो खेलमा बुटवलविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२१ रन बनाएको थियो । बुटवलले उक्त लक्ष्यलाई १४ ओभरमै पूरा गर्यो । पोखराको ओपनरमा आएका कुशल भुर्तेल तीन रनमा आउट हुँदा आक्रामक ब्याट्सम्यानको रुपमा रहेका विनोद भण्डारी ३ तथा कप्तान शरद ७ रनमा आउट भए ।
उता पोखराका लागि सर्वाधिक रन बनाएका रविइन्दर सिंहले ४२ बलमा मात्र ४५ रन बनाए । चौथो खेलमा पनि सहजै पराजित भयो । विराटनगर टाइटान्सले दिएको १४५ रनको लक्ष्य पच्छयाएको पोखराले १९ ओभर पाँच बलमा अल आउट हुँदै मात्र १०० रन बनायो । विराटनगरले पोखरालाई ४५ रनले पराजित गरेको थियो ।
यो खेलमा पोखराका तीन ब्याट्सम्यान रन नबनाइ आउट भएका थिए ।
पाँच ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । यस खेलमा पनि पोखराको ब्याटिङ्मा कमजोरी देखियो । उक्त खेलमा विदेशी खेलाडीहरुले पनि दोहोरो रन बनाउन सकेका थिएनन् । अन्तिम खेलमा टस जिते पनि पोखराले धनगढीविरुद्ध प्रतियोगिताकै कमजोर प्रदर्शन गर्यो । पोखराले १६ ओभर ३ बलमा अल आउट हुँदै मात्र ७९ रन बनायो ।
उक्त योगफल धनगढीले ९ ओभर ४ बलमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । उक्त खेलमा पोखराका ९ ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । विदेशी खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । प्रतियोगितामा शरदको टोलीबाट कुशल भुर्तेल सबैभन्दा बढी रन बनाए । पाँच खेल खेलेका अलराउन्डर कुशलले ५ खेलको ५ इनिङ्समा १०० रन बनाए । त्यस्तै कप्तान शरद भेषावकर ५ खेलको चार इनिङ्मा ५६ रनमा बनाए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।