ओमप्रकाश गुप्ता
लमही ९ पुस
दाङको घोराही उपमहानगरपालिका ३ मसोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । बुधवार विहान ११ः५० बजेको समयमा लमही–घोराही सडक खण्डको मसोट खोलाको दोस्रो घुम्तीको भित्तामा ठोक्कीएर दुर्घटना भएको हो ।
तुलसीपुर देखि भालुवाङ तर्फ जाँदै गरेको रा १ ख १४८९ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परी अहिले सम्म १९ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
घाइते मध्य २ जनालाई बढी चोट लागेको छ भने अन्य सामान्य घाइते भएका छन् । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बसमा कुल ३२ यात्रु सवार रहेका थिए ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।