शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्रको दोस्रो जित



मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो जित हात पारेको छ ।

बुधबार भएको खेलमा विदेशी खेलाडीको प्रभावशाली प्रदर्शनमा फ्रेण्ड्सलाई ३ ० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो । मछिन्द्रका लागि रेजिन सुब्बा, पिटर सेगुन र सोमिडे एडालाजाले गोल गरे ।

२१ औं मिनेटमा विशाल राईको फ्रिकिक फ्रेण्ड्सका गोलकिपर देब लिम्बुले बचाए । २६ औं मिनेटमा अभिषेक रिजालले करिब ३५ यार्डबाट गरेको प्रहार गोलकिपर देबले नै बचाए । २७ औं मिनेटमा मछिन्द्रका एडेलाजा सोमिडेले गरेको हेडर पनि देबले बचाए । तर २८ औं मिनेटमा भने देबले बललाई सही जज गर्न सकेनन् र फ्रेण्ड्सले गोल खायो । पेनाल्टी बक्समा मछिन्द्रका देवेन्द्र तामाङको प्रहार फ्रेण्ड्सका डिफेण्डरले क्लियर गर्न नसक्दा पिटर सेगुनले हेड गर्दै गोल गरे ।

३७ औं मिनेटमा सोमिडेको पासमा अभिषेक रिजालको प्रहार गोलकिपर देबले बचाए । पहिलो हाफको ईन्जुरी टाइममा मछिन्द्रका रन्जित धिमालको फ्रिकिक फ्रेण्ड्सका गोलकिपर देब लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए । दोस्रो हाफको शुरुवातदेखि नै मछिन्द्रले दबाब कायम राख्दै गोल थप्यो । ५० औं मिनेटमा सोमिडे एडालाजाले अभिषेक रिजालको ब्याकहिल पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।

मछिन्द्र यतिमै रोकिएन ८५ औं मिनेटमा रेजिन सुब्बाले मछिन्द्रका लागि तेस्रो गोल गरे । जितपछि मछिन्द्रले ३ खेलबाट ६ अंक जोडदै मनाङ मर्स्याङदीलाई गोल अन्तरमा पछि पारेर पहिलो स्थानमा उक्लेको छ । उता लगातार तेस्रो हार बेहोरेको फ्रेण्ड्स भने अंकबिहीन छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्