३२ वर्षे पुरानो जहाज बोइङ ५७ लाख १० हजार अमेरिकी डलरमा बिक्री गर्दै नेपाल



नेपाल वायु सेवा निगमले नेपाल एयरलाइन्सको ३२ वर्षे पुरानो जहाज बोइङ ५७ लाख १० हजार अमेरिकी डलरमा बिक्री गर्ने भएको छ।

एयरलाइन्सको नाइन एन एसिबी बोइङ सो रकममा बिक्री गर्ने भएको हो । जहाज खरिदका लागि ३ वटा कम्पनीको आवेदन परेको थियो । बोइङ खरिदका लागि दुई वटा अमेरिकी कम्पनी र एउटा पोल्यान्डको कम्पनीले आवेदन दिएका थिए ।

निगमले यो ३ वटा कम्पनीमध्ये जसले धेरै रकममा जहाज खरिद गर्न गरी रकम कबुल गर्छ उसैलाई बिक्री गर्ने जानकारी दिएको थियो। तर कुन कम्पनीले कति रकम बोलकबोल गरे भन्ने चाँहि खुल्न बाँकी छ। विमान बिक्रीको मूल्य भने तय भएको छ। विमान सन् २०२० को फेब्रुअरीसम्म मात्रै उड्न सक्ने लाइफ भएकाले छिटो बिक्री गर्नुपर्ने दबाबमा निगमले नेगोसिएसनमा बिक्री गर्ने भएको हो।

निगमले असार ११ गते पहिलो पटक ४५ दिनको समयसीमा राखेर बोइङ बिक्रीका लागि ग्लोबल टेन्डर गरेको थियो। पहिलो पटकको टेन्डर निगमले राखेको न्यूनतम मूल्यका विमान खरिदका लागि आवेदन नपरेपछि पुनः दोस्रो पटक समय थप गरेको थियो। पहिलो पटक निमगले ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात् ८७ करोड ५० लाख रुपैयाँलाई आधारमूल्य तोकेको थियो ।

टेन्डरमा दुई वटा कम्पनीको आवेदन परे पनि आधार मूल्यभन्दा कम थियो। दोस्रो पटक भने कुनै पनि कम्पनीको आवदेन नदिएपछि लिलामीका लागि १५ दिनको समयसीमा निर्धारण गरी लिलामीका लागि सूचना जारी गरेको थियो । १५ दिने सूचनामा अमेरिकी कम्पनी एभियोन र एमके एभिएसन रहेको थिए। यसैगरी पोल्यान्डको सिएसबिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनी रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्