आजका पत्रपत्रिका: सीमा विवाद : ‘वार्तामा बस्न भारत सकारात्मक’ , ६ ग्यास उद्योगसँग विभागले माग्यो स्पष्टीकरण

अन्तराष्ट्रिय यात्रु घटे, आन्तरिक बढे, नेपाल भ्रमण वर्ष शुरू


काठमाडौं । काठमाडौंबाट बुधबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक-फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।राजधानीबाट प्रकाशित धेरै पत्रपत्रिकाले बुधबार अंग्रेजी नयाँ वर्षलाई आधार बनाएका विभिन्न पक्षको वर्ष भरीको समीक्षात्मक समाचार प्रकाशित गरेका छन् ।

आज प्रकाशित मुख्य राष्ट्रिय दैनिकले आजदेखि सुभारम्भ हुन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउनुपर्नेमा जोड दिएका छन् । नयाँ वर्ष २०२० को शुभकामनासहित उखु किसानले भोग्नु परेको समस्या र संसदीय समितिबाट पारित भएको सूचना प्रविधि विधेयकका विषयमा आज सम्पादकीय लेखिएका छन् ।

सन् २०१९ लाई नियाल्दै नयाँ वर्ष २०२० को शुभकामनासहित अन्नपूर्ण दैनिकले ‘विश्वमा शान्तिको वर्ष बनोस्’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– सन् २०१९ लाई फर्केर हेर्दा विश्व जनमत ‘पपुलिजम’ अर्थात ‘लोकरिझाइँवाद’ उन्मुख भएको देखिन्छ । नयाँ वर्ष ऊर्जामूलक र विश्व शान्तिको वर्षका रुपमा रहन सकोस् ।

नेपाल भ्रमण गर्ने पर्यटकको संख्या र गुणस्तरीय पर्यटक दुवै बढाउनेमा राष्ट्रिय अभियान केन्द्रित हुनुपर्नेमा जोड दिँदै कारोबार दैनिकले ‘भ्रमण वर्ष सफल पारौं’ शीर्षकमा सम्पादकीय लेखेको छ । ‘भ्रमण वर्षलाई सरकारी स्तरमा मात्र नभई निजी क्षेत्र र सर्वसाधारणको तहबाट पनि सफल बनाउन सक्दो प्रयास गर्नुपर्छ,’ सम्पादकीयमा भनिएको छ ।

नागरिक दैनिकले पनि नेपालमा घुम्ने र बस्ने सुविधाबारे जानकारी नहुँदासम्म नेपाल भ्रमण नआउने हुनाले भ्रमण वर्षलाई सफल बनाउन प्रचारप्रसारमा जोड दिनुपर्ने उल्लेख गर्दै सम्पादकीय लेखेको छ । ‘पर्यटकीय गन्तव्यका रुपमा नेपालको प्रचारप्रसार गर्नु सबैभन्दा जरुरी कुरा हो’ भ्रमण वर्षको शुभकामना दिँदै सम्पादकीयमा भनिएको छ, ‘नेपालका विभिन्न पर्यटकीय स्थल दुनियाँका चर्चित गन्तव्य सूचीमा परेका छन्, विदेशी सञ्चारमाध्यमले बेलाबखतमा यस्ता स्थलका प्रचारप्रसार गर्ने गरेको पनि छन्, यस्ता गन्तव्यलाई विचरण गराउन सरकारले हरसम्भव उपाय खोजी गर्नुपर्छ ।’नेपाल भ्रमण वर्षको शुभकामना दिँदै गोरखापत्र दैनिकले ‘भ्रमण वर्षको शुभारम्भ’ शीर्षकमा आज सम्पादकीय लेखेको छ । राष्ट्रको अभियानलाई सफल तुल्याउनुपर्नेमा जोड दिँदै सम्पादीयमा भनिएको छ– पर्यटनको विकास वा पर्यटन दिवसको सफलता एक पक्षको सक्रियताले मात्र सम्भव छैन, सम्बद्ध सबै पक्षको पर्यटन विकासमा योगदान दिन जरुरी छ ।

पत्रपत्रिकामा राजनीतिक, आर्थिक र समाजिक क्षेत्रका विविध समाचार प्रकाशित भएको छ । केही पत्रिकाले सरकारी निकायमा भइरहेको अनियमितता समेत छापिएको छ ।

आजको गोरखापत्र दैनिकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा समस्या समाधानका लागि वार्तामा बस्न भारत सकारात्मक रहेको समारच छापिएको छ ।वार्ताबाट समस्या सम्बोधनका लागि दुवै देशका पदाधिकारीबीच मितिबारे परामर्श भइरहेको मन्त्री ज्ञवालीको भनाइ छ ।

यसअघि नेपालले गरेको पत्राचारमा भारतले पुस ३ गते नै जवाफ पठाइसकेको भए पनि मितिबारे थप परामर्श हुने उनको भनाइ छ । सङ्घीय संसद्को राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिमा मन्त्री ज्ञवालीले भारतले पठाएको पत्र विवाद समाधानका लागि सकारात्मक रहेको बताए ।

उनले भने, “यसअघिको परिपत्रअनुसार पुस ३ गते जवाफ प्राप्त भएको छ । समस्या कूटनीतिक रूपमा टुङ्ग्याउन भारत पनि तयार छ । बैठकको मिति आपसी सहमतिमा तय हुने भन्ने छ । पत्रअनुसार समस्या समाधानका लागि वार्तामा बस्न भारत सकारात्मक छ । कूटनीतिक रूपमै समस्या सम्बोधन हुनेमा हामीलाई विश्वास छ ।”

गोरखापत्र दैनिकमै दुररसञ्चार सेवा प्रदायक एनसेलले लाभकर बापत चार अर्ब ५० करोड रुपैयाँ दाखिला गरेको खबर छापेको छ ।

निर्धा्रित कुल लाभकरलाई छ महिनामा किस्ता बापत बुझाउन पाउने सुविधा मागसहित कम्पनीले लाभकर बुझाएको ठूला करदाता कार्यालयले जनाएको छ ।यसअघि २०७२ चैत २९ गते स्विडेनको कम्पनी टेलियासोनेराले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत शेयर तत्कालीन बजार मूल्य अनुसार एक खर्ब ४३ अर्ब ६५ करोड रुपैयाँमा मलेसियन कम्पनी एजिएटालाई बिक्री गरेको थियो ।

कारोबार दैनिक– त्रिभुवन अन्तर्रा्ष्टिय हवाई यात्रु घटे पनि आन्तरिक भने बढेका छन् । विमानस्थलले सन् २०१९को नोभेम्वरसम्ममा अन्तर्रा्ष्टियतर्फ ३७ लाख ६७ हजार ९ सय १३ हजाई यात्रुलाई सेवा दिएको छ । सन् २०१८ मा यात्रुको संख्या ४३ लाख ४२ हजार ४ सय ८६ थियो ।

नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार हवाई यात्रुको चाप वृद्धि अनुपात हेर्दा विमानस्थलबाट डिसेम्वरसर ४१ लाख हवाई यात्रुले सेवा लिने देखिन्छ । आन्तरिकतर्फ अक्टोवरसम्म २७ लाख ३७ हजार १ सय ७१ यात्रुले विमानस्थल ह्यान्डल गरेकोमा डिसेम्वरसम्म उडानतर्फ कूल ३३ लाख पुग्ने अनुमान गरिएको छ । गत वर्ष आन्तरिक यात्रु २८ लाख ४७ हजार ७ सय ५२ थिए ।

गोरखापत्र दैनिक ःनेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्ड पूरा नगर्ने विभिन्न ६ वटा ग्यास उद्योगसँग स्पष्टीकरण सोधेको छ ।

विभागले गरेको अनुगमनका क्रममा ती उद्योगले मापदण्ड पूरा नगरेको भेटेपछि स्पष्टीकरण सोधेको हो ।

सरकारको संयुक्त अनुगमनका क्रममा सिलिन्डरमा हाइड्रो स्ट्यालिक टेस्ट नगरिएको क्लिनिङ तथा ड्राइङ नभएको र ‘टियर वेट’ (खाली सिलिन्डरको) नलिएको भेटिएपछि ती उद्योगलाई स्पष्टीकरण सोधिएको जनाएको छ ।

नयाँ पत्रिका दैनिक–चिनी उद्योगीले किसानको उखुको मूल्य मात्र होइन, सरकारले किसानका नाममा निकासा गरेको अनुदानको रकम समेत खाइदिएमा छन् । सरकारले किसानलाई प्र्र्ति क्वीन्टल उखुको ६५ रुपैयाँ २८ पैसा अनुदान दिन्छ ।

अघिल्लो वर्ष यो रकम सिधै किसानलाई नदिएर उद्योगमार्फत भुक्तानी गर्ने व्यवस्था गरिएको थियो । देशभर उत्पादन हुने २ करोड क्वीन्टल उखुका लागि छुट्याइएको २८ करोड रुपैयाँ अनुदान सरकारले सिधै किसानलाई नभएर जिल्ला भुक्तानी समितिमार्फत उद्योगलाई दिएको थियो । तर उखुको मूल्य समेतनदिएका उद्योगले अनुदान समेत हिनामिना गरेका छन् ।

आजको नेपाल समाचारपत्र -घरको काम, छोराछोरी स्याहार्नेदेखि लिएर अनेकौं काममा घरमै अल्झिन बाध्य छन् बुहारी । यसै क्रममा शिक्षा क्षेत्रमा प्रदेश–३ सरकारले नयाँ योजना अघि सारेको छ ।
सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पढ्न छोरीरबुहारीलाई छात्रवृत्ति दिने नयाँ योजना अघि सारेको हो । योजना अघि सारिएसँगै अब छोरीरबुहारीलाई केही राहत मिल्ने देखिन्छ ,

चालू आर्थिक वर्षमा बजेट विनियोजन गरी छोरीरबुहारीलाई उच्च शिक्षा पढ्न छात्रवृत्ति उपलब्ध गराउन शिक्षा विकास निर्देशनालयलाई जिम्मा दिइएको मन्त्रालयले जनाएको छ । सामाजिक मन्त्रालयले विनियोजन गरेको बजेटमा शिक्षा विकास निर्देशनालयले ४ सय छोरीरबुहारीका लागि १ करोड छात्रवृत्ति वितरण गर्ने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्