चिसो मौसममा बदाम खानुका फाइदाहरु यस्ता छन, हेर्नुहोस



चिसो मौसममा घाममा बसेर बदाम खानुको आफ्नै मज्जा छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । बदाममा स्वास्थ्यको खजाना लुकेको छ ।

यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । यदि तपाईं कुनै कारणवश दुध पिउन सक्नुहुन्न भने विश्वास गर्नुहोस् बदामको सेवन एक उत्कृष्ट विकल्प हो ।

बदामका खानुका फाइदाहरु :

तौल कम गर्छः

बदामले तौल कम गर्न निकै मद्दत गर्छ । बदाम खाएको लामो समयसम्म भोक लागेको महसुस हुँदैन । त्यसकारण तपाईंको आहारमा कमी आउँछ र तौल कम गर्न निकै सहज हुन्छ ।

एन्टिअक्सिडेन्ट र मिनरल्सले भरपुरः

बदाममा एन्टिअक्सिडेन्ट र मिलरल्स पर्याप्त मात्रामा हुने भएकाले स्ट्रोक र मुटुसम्बन्धि समस्याको खतरालाई कम गर्छ । बदाममा पाइने ट्रिप्टोफेनले डिप्रेशनको समस्यालाई पनि टाढा राख्न मद्दत गर्छ ।

फाइटोस्टेरोलको मात्रा अत्यधिकः

बदाममा बिटा–सिटोस्टेरोल भनिने फाइटोस्टेरोलको मात्रा अत्यधिक हुने भएकाले यसले फाइटोस्टेरोल क्यान्सर लाग्नबाट बचाउँछ । अमेरिकामा भएको एक अनुसन्धान अनुसार हप्तामा कम्तीमा दुईपटक बदामको सेवन गर्ने महिलामा पेटको क्यान्सरको खतरा ५८ प्रतिशत कम र पुरुषमा २७ प्रतिशत कम भएको पाइयो ।

मोनोसेचुरेटेड र पोलिअनसेचुरेटेड फ्याट पाइन्छः

बदाममा मोनोसेचुरेटेड र पोलिअनसेचुरेटेड फ्याट भरपुर मात्रामा पाइन्छ । विशेषगरी बदाममा पाइने फोलिक एसिडले रगतमा ब्याड कोलेस्ट्रोललाई कम गर्दै गुड कोलेस्ट्रोलको स्तर बढाउने गर्छ । यसले शरिरमा कोलेस्ट्रोलका स्तरलाई पनि ब्यालेन्स गर्नुका साथै कोरोनरी आर्टरी डिजिजबाट शरिरलाई सुरक्षित राख्ने गर्छ ।

प्रजनन क्षमतामा वृद्धि :

बदाममा अत्यधिक मात्रामा फोलिक एसिड पाइने भएकोले महिलाको प्रजनन क्षमतालाई वृद्धि गर्छ । यसबाहेक शिशुको स्वास्थ्यलाई पनि सकारात्मक असर पुग्ने गर्छ । यदि तपाईं गर्भावस्थाको सुरुवाती दिनमा हुनुहुन्छ भने बदाम खान सुरु गरिहाल्नुहोस् । यसको शिशुको स्वास्थ्य राम्रो बनाउन सहयोग गर्छ ।

अन्य फाइदाः

विभिन्न अनुसन्धानमा यदि महिलाले गर्भावस्था अघि र गर्भावस्थामा कम्तीमा चार सय ग्राम बदामको सेवन गर्छिन् भने उनको बच्चा जन्मँदा कुनै प्रकारको कमी नहुने पुष्टि भइसकेको छ । यसबाहेक बदामको सेवनले शिशुमा दम हुने खतरा पनि कम हुन्छ ।

छालाका लागि उत्कृष्टः

बदाम स्वास्थ्यका साथै छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । बदाममा हुने मोनोसेचुरेटेड एसिडले छालालाई हाइड्रेट गर्नुका साथै चम्किलो पनि बनाउँछ ।

भिटामिन सी भरपुरः

बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट सुरक्षा प्रदान गर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्