उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन सँगै चुनाव चिह्न वितरण आज



सैघाली खबर
काठमाडौं,१९ कार्तिक


निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित गर्दै छ । निर्वाचनको निर्धारित कार्यतालिका अनुसार आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिह्न पनि वितरण हुनेछ ।

आयोगले १६ गते दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा उम्मेदवारी दर्ता गराएको थियो । उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नु अघि आज उम्मेदवारी फिर्ता लिन चाहनेलार्इ समय दिइएको छ । आयोगका अनुसार उम्मेदवारी फिर्ताका लागि आइतबार बिहान १० बजेदेखि १ बजेसम्म समय छुट्याइएको छ ।

उम्मेदवारको विरोधमा उजुरी दिन १७ गतेको समय दिएको आयोगले शनिबार मनोनपयपत्र र उजुरीउपर छानबिन गरिसकेको छ । निर्वाचन आयोगका अनुसार, उम्मेदवारका लागि अयोग्य देखिएपछि तनहुँ–२ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ । जोशी सर्वोच्च अदालतबाट भ्रष्टाचार आरोपमा दोषी प्रमाणित व्यक्ति हुन् ।

आगामी मंसिर २१ गते १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हुने निर्वाचनमा १ हजार ७४२ उम्मेदवारी परेकोमा एक जनाको खारेजी भएको छ भने प्रदेशसभातर्फको २५६ निर्वाचन क्षेत्रका लागि २ हजार ९६६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्