मुख्य समाचार

रोल्पाका सबै स्थानीय सरकारको पहिलो प्राथमिकता शिक्षा बन्यो

By थाहा अनलाइन

November 05, 2017

सैघाली खबर, रोल्पा १९ कात्तिक। स्थानीय तहको निर्वाचनसँगै गठन भएका रोल्पाका दशवटै स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिई काम अगाडि वढाएका छन् । प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शैक्षिक सरोकारवालाको भेलागरी शैक्षिक अवस्था पहिचानसमेत गरेका उनीहरूले शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने योजनाको खाकासहित काम अगाडि वढाएको वताएका छन् ।

जिल्लामा शैक्षिक अवस्था निकै कमजोर रहेका कारण विकासको मेरुदण्डको रूपमा शिक्षालाई स्वीकार गरी प्राथमिकताका साथ काम थालनी गरेका छौँ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भने ।

सबै विद्यालयको अवस्था सुधार नभएसम्म शैक्षिक उपलव्धि हासिल नहुने तर्क गर्दै भौतिक पुर्वाधारलाई निरन्तरता दिँदै शैक्षिक विकासलाई प्राथमिकतामा राखी काम थालनी गरेको उनले बताए ।

स्थानीय सरकारको शैक्षिक आवधिक योजना बनाउन सेभ द चिल्ड्रेनले जिल्लाका स्थानीय गैर सरकारी संस्थाको सहजीकरणमा सहयोग गरिरहेको सेभ द चिल्ड्रेनका दिलकमल क्षेत्रीले बताए ।

जिल्लामा शैक्षिक अवस्था सुधारका लागि धेरै काम गर्न बाँकी रहेकाले स्थानीय सरकारले शिक्षालाई प्राथमिकतामा राखी काम गर्नु सकारात्मक भएको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले वताइन् ।