श्रमिकलाई काङ्ग्रेसले रुवायो ,कम्युनिष्टले हसायो : उखु किसान(भिडियो सहित)



सरकारसँग पाँचबुँदे सहमति भएपछि सर्लाहीका रामविलास महतोले सहमतिपत्रलाई बडो नियालेर हेरे । अनि, उनको अनुहारमा खुशी छचल्कियो ।

रामविलासले भने, काङ्ग्रेसले श्रमिकलाई रुवायो,कम्युनिष्टले श्रमिकलाई न्याय दियो,अब चाहिँ पैसा आउने आशा बढेको छ । महतो उखुको बक्यौता रकम माग गर्दै आन्दोलन गर्न केही दिनअघि काठमाडौं आएका हुन् । ७० हिउँद काटेका महतोले धरधरी आँशु बगाउँदै आफ्नो पीडा सञ्चारकर्मीलाई सुनाएका थिए । उनको यो रुवाई उखु कृषकहरुले भोगिरहेको पीडाको प्रतिबिम्ब झैं बनिरहेको छ ।

रामविलासले भनेका थिए, ‘अब के गर्ने हजुर यो मालिक त केही पनि पैसा दिँदैन ।’ हुन पनि अन्नपूर्ण सुगर मिलले उखुको पैसा नदिएपछि उनको घरजग्गा नै लिलाम हुने अवस्थामा पुगेको थियो । त्यसैले त उनी जीवनमा पहिलो पटक काठमाडौं आए, पसिनाको मूल्य माग गर्दै माइतीघरको सडकमै सुते ।

उनलाई सिंहदरबारमा पाँचबुँदे सहमति हुँदै गर्दा नै घरमा फोन गरेर खुसी साट्न मन लागेको रहेछ । तर गोजीबाट फोन निकाल्ने आँट आएन । उनले हाँस्दै भने, ‘मन्त्रालयबाट कसरी गर्नू । फोन गर्न सकिनँ ।’ उनले सञ्चारकर्मीलाई धन्यवाद दिए । आज उधारो सहमतिमा खुशी भएर सिंहदरबारबाट निस्केका रामविलासहरु भोली फेरि माइतीघरको सडकमा सुत्न आउनु नपरोस् ।

हेर्नुहोस् यो भिडियो :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्