हातेमालो गर्दै प्रचारप्रसार



सैघाली खबर 

रुकुम , २० कार्तिक । एमालेका ५ नम्बर प्रदेश सचिवालय सदस्य नन्दलाल शर्मा जिल्लाको सिस्ने र भूमे गाउँपालिका ५ वटा चुनावी कार्यक्रममा माओवादीतर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार कमला रोकालाई मत माग्दै हिँडे । ती सभा सकिएपछि शर्मा फर्किए । एमाले रुकुम कमिटीका पूर्वसंयोजक सतमान पुनमगर र ५ नं प्रदेश सचिवालय सदस्य टोपबहादुर ओली ६ वटा कार्यक्रममार्फत उनै रोकाको प्रचारमा हिँडिसकेका छन् । बाँकी कार्यक्रम पनि पुन र ओली सँगसँगै हुने छन् । केही दिनपछि एमाले केन्द्रीय सदस्य खेममान खडका पनि मत माग्दै हिँड्ने कार्यक्रम तय भएको छ । पुथाउत्तरगंगा गाउँपालिका ७ बाट खडकाले रोकाको चुनावी अभियानमा सघाउनेछन् ।

गत असारमा भएको स्थानीय तह निर्वाचनमा एक अर्काविरुद्ध भाषण, नाराबाजी र मारामार गरेका पार्टी नेता कार्यकर्ता सँगसँगै मत माग्दै हिँडेको देखेर जिल्लावासी भने अचम्ममा परेका छन् । दुवै पार्टीका नेताहरू एउटै गाडी तथा पैदलमा हिँडेर प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार गर्दा सर्वसाधारणलाई अनौठो लागेको छ । ‘कम्युनिस्टहरू एक भएर निर्वाचनमा जानु, एउटै पार्टी बनाउनु त राम्रो हो नि तर कति छिटो यो सम्भव भयो भन्ने अच्चमकै छ ।’ पुथाउत्तरगंगा गाउँपालिकाका रमेश विकले भने । आ–आफ्ना चुनाव चिहन अंकित झन्डामा सँगै प्रचार अभियानमा आएका नेतालाई देखेर आफूहरूमा छुट्टै सञ्चार भइरहेको उनले बताए । दुई पार्टीका नेता एउटै मञ्चमा बसेर मत मागिरहेका छन् ।चुनावी माहोल बढे पनि एकदमै शान्त रहेको उनको भनाइ छ । गाउँघरमा ५ महिनाअघिको भन्दा फरक माहोल देखेको भूमे ३ की मनकुमारी बुढाले बताइन् । ‘असारको चुनावजस्तो भए त हैरान हुन्थ्यो होला,’ उनले भनिन्, ‘सबै सँगसँगै भएर भोट माग्न आउँदा कस्तोकस्तो लागिरहेको छ ।’

 

वाम गठबन्धनका तर्फबाट उम्मेदवार छनोट गर्दा रुकुम पूर्वका प्रतिनिधिसभा र प्रदेशसभाका दुवै निर्वाचन क्षेत्र माओवादीले लिएको छ । प्रदेश र संघीय सभाका उम्मेदवारलाई सघाउन एमाले जिल्ला कमिटी कम्मर कसेरै लागेको छ ।  चुनावी अभियानमा घुमिरहँदा जनतामा उत्साह पाइएको एमाले जिल्ला नेताले बताए । ‘हामी सँगसँगै छौं, चुनावी कार्यक्रम सँगै गरेका छौं,’ उनले भने । विगतका सानातिना तिक्ततालाई बेवास्ता गरिएको एमाले अर्का नेता टोपबहादुर ओलीले बताए । ‘देशको हितका निम्ति ससाना कुरामा अल्झिनु छैन, हामीले देशको उन्नतिलाई मुख्य मन्त्र बनाएका छौं,’ ओलीले भने । प्रतिनिधिसभा उम्मेदवार रोकाले हालसम्म ११ चुनावी सभा गठबन्धनले नै गरेको बताइन् । ‘यो पार्टी र त्यो पार्टी भन्ने छैन,’ उनले भनिन् ।

 

‘वाम गठबन्धन पार्टी एकताकै प्रक्रिया’

 

रुकुम पश्चिम– बिनाविभागीय मन्त्री जनार्दन शर्माले एमाले र माओवादी केन्द्रलगायत दलबीचको निर्वाचनसम्बन्धी सिट बाँडफाँड वाम गठबन्धनमात्रै नभएको बताएका छन् । वामहरू मिलेर आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा दिइएको उम्मेदवारी गठबन्धनमात्र नभएर पार्टी एकताको प्रक्रिया रहेको उनको भनाइ छ । सदरमुकाम खलंगामा आइतबार प्रेस चौतारी र प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले समय अभावका कारण आआफ्नै उम्मेदवारी दिनुपरेको बताए । ‘हामी पार्टी एकता गरेरै निर्वाचनमा जाने तयारीमा थियौं,’ उनले भने, ‘केही प्राविधिक कुरा नमिल्नु तथा समयाभावले सकिएन ।’ तत्कालै पार्टी एकता सम्भव नभएपछि ६०र४० सिट बाँडफाँडका आधारमा निर्वाचनमा जाने र निर्वाचनलगत्तै एकता तयारी भइरहेको उनको भनाइ थियो ।

 

देश र राष्ट्रिय हितका साथै समयको मागअनुसार कम्युनिस्ट एकताको प्रक्रिया सुरु भएको तर्क शर्माले राखे । कम्युनिस्ट एकताको सन्देश निर्वाचनलगत्तै एमाले र माओवादी एक भएर दिने उनले बताए । राजनीति स्थिर नहुँदा देश स्थिर भइरहने अवस्था नरहेकाले विकास निर्माण सम्भव नदेखिएपछि एकता प्रक्रिया थालिएको उनको भनाइ छ । ‘जब राजनीति नै स्थिर नभए आर्थिक संवृद्धि देशको विकास सम्भव नै देखिएन, त्यसैले जोखिम मोलेर पार्टी एकताको प्रक्रिया थालिएको हो,’ उनले भने । अब बन्ने सरकार ५ वर्षसम्म रहने भन्दै उनले त्यसपछि जनताले दल तथा उम्मेदवार छान्ने अवसर पनि पाउने उनको भनाइ छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्