प्रदेश नं.२ को प्रदेशसभा बैठक पुस २८ गतेसम्म स्थगित



जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको बिहीबार बोलाएको बैठक बस्दै नबसी स्थगित भएको छ छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

यादवका अनुसार अब बैठक पुस २८ गते मंगलबार दिउँसो १ बजे निर्धारण गरिएको छ । यसअघि पुस १७ गते तोकिएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो ।
त्यसअघि पुस १४ र १५ गते आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी तथा केही सत्तारुढ सांसद समेतले अवरुद्व गरेका थिए ।

गत आर्थिक बर्ष २०७५/७६ मा संचालन गरिएका योजनाहरुको भुक्तानी पाउनुपर्ने माग राख्दै सांसदहरुले लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएका छन् ।

गत बर्ष सञ्चालन गरिएका ८ सय ४२ वटा योजनाको झण्डै ९१ करोड रुपैयाँ भुक्तानी हालसम्म हुन सकेको छैन । सांसदहरुले भुक्तानी नपाएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

प्रदेशसभा बैठक बस्न नसक्दा प्रदेशको नामांकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्यौलमा परेको छ ।

गत भदौ ५ गते दलहरुले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव संसदमा दर्ता गराए पनि त्यस उपर छलफल हुन सकेको छैन् । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले प्रदेशको नाम ‘मधेश’ प्रस्ताव गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपाले जानकी र कांग्रेसले मिथिला–भोजपुरा राख्नुपर्ने प्रस्ताव पेश गरेको छ । यद्यपी यस बिषयमा छलफल अगाडि बढ्न सकेको छैन । प्रदेशसभामा एक दर्जन भन्दा बढी विधेयकहरु पेश भए पनि छलफल अगाडि बढ्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

राजनीतिक सहमतिको प्रयास

कर्मचारीले गत बर्ष सञ्चालन गरिएका योजनाको भुक्तानी दिन नमिल्ने बताएपछि यसमा राजनीतिक सहमति थालिएको हो ।

प्रदेश सरकारका प्रबक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले यसको निकास चाँडै खोजिने बताए । ‘राजनीतिक सहमति गरेर समस्या समाधानतर्फ लागेका छौं’ उनले भने, ‘आगामी बैठकसम्म यो समस्या समाधान हुनेमा विश्वस्त छौं ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्