प्रदेश १ मा मानव अधिकारविरुद्ध हुने घटनाहरुको दर बढ्दो



धनकुटा : प्रदेश १ मा मानव अधिकारविरुद्ध हुने घटनाहरुको दर बढ्दो देखिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०१९ मा जिल्लाभर घटेका घटनाहरू संकलन र विश्लेषण गर्दै प्रदेशमा मानव अधिकार उल्लंघनका घटना बढेको दाबी गरेको हो। सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म प्रदेश १ मा ९ सय ११ वटा मानव अधिकार उल्लंघनका घटना भएको इन्सेकले जनाएको छ।

गत वर्ष प्रदेश १ मा ८ सय ४० वटा मानवअधिकार हननका घटना भएको इन्सेकको तथ्यांकमा उल्लेख छ। यस वर्ष झापामा सबैभन्दा बढी मानव अधिकार उल्लंघनका घटना भएको छ। झापामा मात्रै २०० वटा मानव अधिकार उल्लंघनका घटना भएको पाइएको छ। दोस्रोमा मोरङ परेको छ, जहाँ यो बर्षभित्र १ सय ५५ घटना भएका छन्।

यसैगरी उदयपुरमा १ सय १० वटा, सुनसरीमा ९० वटा, भोजपुरमा ७६ वटा, पाँचथरमा ५७ वटा, सोलुखुम्बुमा ४३ वटा र खोटाङमा ३३ वटा मानवअधिकार विरुद्धका घटना भएको तथ्याङ्क संकलन भएको छ। यस्तै, इलाममा ३० वटा, ओखलढुंगामा २८ वटा, संखुवासभामा २७ वटा, धनकुटामा २३ वटा, ताप्लेजुङमा २३ वटा र तेह्रथुममा १६ वटा मानव अधिकार विरुद्धका घटना भएको तथ्याङ्क संकलन इन्सेक विराटनगर कार्यालयले जनाएको छ।

इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा प्रदेश १ का जिल्ला प्रतिनिधिहरूको उपस्थितीमा मानव अधिकार वर्ष पुस्तक २०२० को वार्षिक सम्पादन शनिबार विराटनगरमा सकिएको छ। दुई दिनसम्म चलेको भेलामा प्रदेशका १४ वटै जिल्लाका प्रतिनिधिहरूले जिल्लाको अवस्थाबारे जानकारी गराएको इन्सेक प्रदेश १ संयोजक सोमराज थापाले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्