मुख्य समाचार

घोराहीलाई स्मार्ट सिटी बनाउन कार्यदल गठन ,विभिन्न क्षेत्रलाई एघार लाख १६ हजार सहयोग

By थाहा अनलाइन

November 07, 2017

निमु सगंम घर्ती, घोराही, २१ कार्तिक। घोराही उपमहानगरपालिकाले नगरलाई अत्याधुनिक र सबै सेवा सुविधायुक्त शहर स्मार्ट सिटी बनाउने प्रकृयालाई अघि बढाउन कार्यदल बनाएको छ । नगर कार्यपालिकाको बैठकबाट नगर प्रमुख नरुलाल चौधरीको संयोजकत्वमा १० सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा उपप्रमुख सहित वडा नम्बर १५, १६ र १८ का वडा अध्यक्षहरु, योजना शाखा, नेपाल विद्युत प्राधिकरण शाखा घोराही, कम्प्युटर एशोसियसन नेपाल, नेपाल टेलिकम घोराही र उपमहानगरका कार्यकारी अधिकृत सदस्य सचिब रहनुभएको छ ।

साथै उपमहानगरले गरिव, विपन्न तथा लक्षित वर्ग, लोपोन्मुख समुहहरुको आयआर्जन, क्षमता बृद्धि गरि जीवनस्तरमा सुधार ल्याई गरिवी न्यूनिकरणमा टेवा पु¥याउन उपमहानगरबाट सञ्चालन हुने सिपमूलक कार्यक्रमलाई अझ बढी प्रभावकारी बनाउन लघु उद्यम विकास कार्यक्रमको ढंगबाट सञ्चालन गर्ने गरि प्रकृयालाई अघि बढाउने समेत निर्णय गरेको छ ।

त्यसैगरी घोराही उपमहानगरपालिकाको समग्र क्षेत्रको बिषयबस्तु समाबेश भएको नगर प्रोफाईल बनाउन उपप्रमुख सीता न्यौपाने संयोजक रहेको समिति गठन भएको छ । कार्यपालिका बैठकले आगलागिबाट क्षति भएको तुलसीपुरको प्रकृति एफएमलाई १० हजार सहयोग गर्ने पनि निर्णय गरेको छ ।

त्यसैगरी, सिद्ध रत्ननाथ क्याम्पस नारायणपुरको शैक्षिक एंव भौतीक सुधारका लागि ३ लाख, पद्मोदय क्याम्पसको प्राविधिक शिक्षा र विज्ञान संकाय तर्फ पुस्तकालय स्थापनार्थ २ लाख, निमावि सुनपुरको शैक्षिक स्तरोन्नतिका लागि एक लाख ६ हजार, भगवती मावि सैघाको शैक्षिक स्तरोन्नतिका लागि एक लाख र बाल शान्ति गृह पर्साका असाह्य, अनाथ बालबालिकाहरुको संरक्षण र सम्वर्धनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ ।

त्यसैगरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ दाङ द्धारा उपमहानगरपालिकाका सबै वडाहरुमा संचालन गरिने खानेपानी व्यवस्थापन तथा पूर्ण सरसफाई सम्वन्धि दुई दिने तालिमका लागि खर्चका लागि २ लाख सहयोग गर्ने पनि निर्णय भएको छ ।

साथै उपमहानगरपालिकाको प्रथम नगरसभाबाट पारित नीति तथा कार्यक्रम अनुसार उपमहानगरपालिकाको आर्थिक, सामाजिक, भौतिक लगायत समग्र विकासका लागि योजना बनाउन नगर प्रमुखको संयोजक रहने गरि ७ सदस्यीय कार्यदल गठन समेत भएको छ ।

उपमहानगरपालिका अन्तर्गत कृषि र पशु सेवा शाखाबाट संचालन गरिने कार्यक्रमहरु सम्पादनका लागि वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेयको संयोजकत्वमा ७ सदस्यीय कृषि तथा पशु सेवा कार्यक्रम संचालन कार्यविधि बनाउन समिति पनि गठन भएको छ ।

साथै कार्यपालिकाको बैठकले स्थानीय तह संचालन ऐन २०७४ को दफा ४२ बमोजिम घर नक्सा पास स्वीकृतिका लागि आगामी २०७४ चैत्र मसान्त सम्ममा सूचना प्रवाह गरि नक्सा पास गर्ने, उपमहानगरपालिकामा कृषि र पशु सेवाशाखाबाट सम्पादन गरिने कार्यक्रमलाई स्विकृत दिने निर्णय भएको छ ।