प्रदेश १ सरकारले स्थायी राजधानी र नाम राख्न मुस्किल



इटहरी । प्रदेश १ सरकारले प्रदेशको अस्थायी राजधानी विराटनगर तोकेको करीब ८ महिना बित्यो । प्रदेश सरकार आएको साढे दुई बर्ष भइसकेको भएपनि अहिलेसम्म प्रदेशले आफ्नो स्थायी राजधानी र नाम राख्न असफल भएको छ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई तिहाई सरकारले १ नम्बर प्रदेशको नाम अहिलेसम्म तोक्न नसक्दा प्रदेश सरकार असफल भएको महसुस हुन्छ । गत वैशाखमा नै प्रदेश सरकारले आफ्नो अस्थायी राजधानी तोकेको छ । तर, नाम भने के राख्ने भन्ने बिषयमा अन्यौल भईरहेको छ ।

प्रदेश १ मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुब सुवेदीले अब आउने अधिबेशनमा नामको टुङ्गो लाग्ने दाबी गरे । उनका अनुसार अहिले नामको बिषयमा छलफल मात्र भईरहेको छ, तर के नाम राख्ने भन्ने बिषयमा भने टुङ्गो लागेको छैन । प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोईरालाले आफूहरुले अहिलेसम्म नामकरणको विषयमा छलफल समेत नगरेको प्रतिक्रिया दिए । उनले भने, ‘सरकारले सदनमा अहिलेसम्म नामको बिषयमा बहस भएको छैन ।’ उनका अनुसार आगामी अधिबेशनमा नाम टुङ्गो नलागे आफूहरुले सदनमा कडा रुपमा प्रस्तुत हुने कोईरालाको भनाई रहेको थियो ।

प्रदेश एकमा सत्तापक्ष नेकपाकै दुई तिहाई रहेको छ । प्रदेश १ मा ९३ जना सांसद रहेका मध्ये नेकपाका मात्रै ६७ जना सांसद रहेका छन् । दुई तिहाईका लागि नाम तोक्न ६२ जनाको सहमति भए पुग्छ । तर, प्रदेश सरकारले दुई तिहाई भएपनि नाम टुङ्गो लगाउन सकेको छैन । प्रदेश १ मा कोशी, सगरमाथा, किराँत, किराँत–खम्बुवान लगायतका नाम चर्चामा रहेका छन् ।

कतिपय बौद्धिक व्यक्तिहरुले भने प्रदेशको नाम कोशी राख्नुपर्ने बताउँदै आएका छन् भने कतिपयले जातीयताको आधारमा नाम राख्न नहुने र प्रदेशको नाम सगरमाथा राख्नुपर्ने सुझाउँदै आएका छन् । केहीले भने पहिचानका आधारमा किराँत राज्य हुनुपर्ने भन्दै माग राख्दै आएका छन् । प्रदेश सरकारले आउँदो अधिबेशनमा नाम टुङ्गो लगाउँने तयारी थालेको स्रोतले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्