सूचना प्रविधि विधेयकका विरुद्ध अदालत जाने पत्रकार महासंघकाे चेतावनी



काठमाण्डौ– पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सूचना प्रविधि विधेयकका विरुद्ध अदालत जाने चेतावनी दिनुभएको छ ।

विधेयकका केही बुँदाहरुले मौलिक हक सम्बन्धी व्यवस्थाहरुलाई कटौती गरी कठपुतली अदालत गठन गर्न खोजेको भन्दै आचार्यले यसको विरुद्ध अदालत जाने चेतावनी दिनुभएको हो ।

सूचना प्रविधि विधेयक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा विषयक अन्तरक्रिया कार्यक्रममा आचार्यले समितिमा संशोधन भएका केही बुँदाहरु राम्रा भए पनि केही बुँदाहरुमा सजाय थपको व्यवस्था भएकोप्रति आपत्ति जनाउनुभयो ।

नेपाल बार एशोसिएसन लगायतका संघ संस्थाहरुसँग पत्रकार महासंघले सहकार्य गरेर सातै प्रदेशमा जाने, विधेयकको विरुद्धमा सदनसम्म विज्ञप्ती मार्फत रोकियोस् भनेर आग्रह गर्ने र सडकमा पनि जान सक्ने सहमति भएको उहाँले बताउनुभयो ।

एक वर्षभन्दा बढी फाैजदारी सजाय हुने कुरामा अर्धन्यायिक निकायलाई संविधानले अधिकार नदिएको भए पनि विधेयकले संविधानको गम्भीर उलङ्घन गरेको उहाँले बताउनुभयो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले सत्तापक्ष र प्रतिपक्षले यो विषयमा सहकार्य गरेर टुंगो लगाउनुपर्ने बताउनुभयो ।

गिरीजाप्रसाद कोइरालाको पालामासमेत नियन्त्रण नै गर्न खोजिएको र आज केपी ओलीको पालामा पनि त्यही नियती दोहोरिएको उहाँको भनाई छ । राज्य सत्ताहरु जहिले पनि नियन्त्रणमुखि नै हुने उहाँको भनाई छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सरकारमा गएपछि प्रेसलाई थुनिहाल्नु पर्ने, प्रेसलाई बन्देज लगाउनुपर्ने कस्तो मानसिकता हो भन्दै प्रश्न गर्नुभयो । उहाँले एउटा माइक बोकेर हिडेको कुनै अनलाइनको पत्रकार थुनिनुपर्ने अवस्था आएको बताउनुभयो । अहिले सरकारले ल्याएको विधेयकले पत्रकारलाई मात्रै नभएर आम नागरिकको मौलिक हक नै कुण्ठित गरेको बताउनुभयो ।

अन्तक्रिया कार्यक्रममा सहभागिहरुले सरकारले नियन्त्रणमुखि विधेयक ल्याएको आरोप लगाएका थिए । संविधानले दिएको मौलिकहरु हनन् हुने गरी विधेयक आएको भन्दै सहभागिहरुले विरोध गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्