अन्तर्राष्ट्रिय

जापानी युवकले खोजे चन्द्रमामा जानका लागि जीवनसाथी

By थाहा अनलाइन

January 15, 2020

जापानको एकजना फेशन टाइकुन युसाक मीजावाले चन्द्रमाको यात्राका लागि जीवनसाथी खोजी गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत विज्ञापन प्रकाशन गर्दै युवतिहरुलाई यात्राका लागि अपिल गर्न आग्रह गरेका छन् । ४४ वर्षीय युसाक चन्द्रमामा पुग्ने पहिलो सर्वसाधारण हुनेछन् । सन २०२३ मा स्टारशिप रकेट मार्फत उनी चन्द्रमामा जाने योजनामा छन् ।

मीजावाले अनलाइनमा अपील गर्दै भनेका छन् ‘म स्पेशल महिला साथीसंग चन्द्रमा यात्राको अनुभव साटन चाहन्छु ।’ आफ्नी प्रेमिका २७ वर्षिया आयमे गोरिकी संग ब्रेकअप भएको जानकारी दिँदै उनले भनेका छन् ‘आजसम्म मैले आफ्नै शैलीले बाचेँ । अहिले ४४ वर्षको भएँ तर, एक्लो महसुस् गर्दैछु ।’

उनले सर्त सहितको आवेदन अपिल गरेका छन् । उनको भनाई अनुसार यो प्रकृया तीन महिनाको हुने छ । आवेदक सिंगल हुन जरुरी छ भने उमेर २० वर्ष पूरा भएको हुनुपर्छ ।

उनको सोच सकारात्मक हुनुको साथै चन्द्रमामा जान इच्छुक पनि हुनुपर्ने छ । १७ जनावरीसम्म आवेदन दिइसक्नु पर्ने छ । मार्चको अन्तिममा उनले पार्टनर छान्ने भएका छन् ।