“विपतलाई सही ढंगले व्यवस्थापन गर्न सके मात्रै ‘समृद्ध नेपाल बन्छ” : गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विपतलाई सही ढंगले व्यवस्थापन गर्न सके मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभिभारा पूरा गर्न सकिने बताएका छन् ।

२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा राजधानीमा बिहीबार आयोजित कार्यक्रममा उनले सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सके दिगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने बताए । ‘सुरक्षित पूर्वाधारमा पहिलो कुरा नागरिक सचेतना हो । नागरिकहरूलाई सचेत बनाउने सकेको अवस्थामा त्यसले दिगो सुख र समृद्धिको आधार निर्माण गर्छ,’ थापाले भने ।

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए । कमजोर पूर्वाधारका कारण कुनै पनि मानवीय क्षति नहोस् भन्न सरकारले पूर्वाधारण निर्माणमा विशेष ध्यान दिएको उनले बताए । नेपालीलाई सुखी र नेपाललाई समृद्ध बनाउन पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने उनको जोड थियो ।

पुस १५ देखि माघ १५ सम्म विभिन्न कार्यक्रम गरी भूकम्पसम्बन्धी जनचेतना जगाइँदै छ । गृह मन्त्रालयले सातै प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । भूकम्पबारे जनचेतना जगाउने उद्देश्यले सरकारले २०५५ देखि माघ २ लाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्