शेयर बजारले बुलिस ट्रेण्डु समात्यो



काठमाडौं- पछिल्लो समयको सुधारसँगै शेयर बजारले ‘बुलिस ट्रेण्ड’ समातेको विश्लेषण गर्न थालिएको छ। बढ्दो क्रममा रहेको बजारमा धेरै अंकले सुधार हुने र थोरै अंकले घट्ने विश्लेषकहरू बताउँछन्।

अहिलेको बजारलाई सबैभन्दा धेरै शेयर बजारको साइकलले प्रभाव पारेको हो। शेयर बजार विगत तीन वर्षदेखि ‘बियरिस ट्रेण्ड’मा थियो। बजारले ६ महिना अगाडि नै बुलियस ट्रेण्ड समात्ने आँकलन गरिए पनि सुधार हुने सकेको थिएन। गएको फागुन १९ गते शेयर बजार बियरिस ट्रेण्डको सबैभन्दा तल्लो विन्दु ११०२ सम्म झर्‍यो। त्यसपछि बजार विस्तारै सुधार हुने क्रममा १३१३ अंकसम्म पुग्यो। जतिवेल केही विश्लेषकले अब बजार वुलिस ट्रेण्डमा गयो भन्ने विश्लेषण गरेका थिए।

बजार तल्लो विन्दुमा झरेर सिधै उकालो लाग्ने भन्दा पनि ‘एक्युमुलेसन फेज’ले गर्दा बजार पुनः ११०९ अंकसम्म झरेको बजार विश्लेषक प्रकाश तिवारीले बताए। तर बजार यस ट्रेण्डको सबैभन्दा तल्लो विन्दुलाई नछोइ सुधार भएकोले अब बजार ११ सयको भन्दा तल्लो विन्दुमा नझर्ने र क्रमश बजार सुधार हुँदै जाने तिवारीको विश्लेषण छ। उनले थपे, ‘बजार यो भन्दा तल झर्दैन भन्ने प्रमाणित भयो।’

किन सुधार भयो शेयर बजार?
शेयर बजार जहिले पनि साइकलमा चलिरहेको हुन्छ। नेपालको शेयर बजारमा पनि ५/६ वर्षको अन्तरमा ट्रेण्ड परिवर्तन हुने गरेको छ। यस अगाडि तीन वर्षसम्म शेयर बजार घट्दो क्रममा थियो। तीन वर्षको अवधिमा शेयर बजार लगभग साढे सात सय भन्दा धेरै अंकले गिरावट आएको थियो।

बजार धेरै नै तल्लो विन्दुमा आउदा लगानीकर्ताको मनोविज्ञान तल झरेको छ। यसका पछाडि बैंकिङ तरलताको अभाव, उच्च व्याजदर, ओभर सप्लाइ र राजनितिक कारण थिए। अहिलेको अवस्थामा बैंकको व्याजदर घट्दो क्रममा छ।

एक वर्ष अगाडि शेयरमा लगानी गर्नु भन्दा बैंकको मुद्दती निक्षेपमा पैसा राख्दा धेरै फाइदा हुने स्थिति थियो। अहिले बैंकहरूले अधिकतम ९.५ प्रतिशत भन्दा माथि व्याजदरमा निक्षेप राख्न पाउँदैनन्।

बैंकहरूले एकै पटक ठुला आयोजनामा लगानी गर्दा बजारमा बैंकिङ तरलताको अभाव देखिएको थियो। दिर्घकालिन क्षेत्रमा एकै पटक कर्जा जादा बैंकहरू सँग लगानी गर्न थप पैसाको अभाव हुँदा निक्षेपको व्याजदर बढ्नुका साथै शेयर कर्जाको लागि लगानी हुने अवस्था आएन।

बजार घट्नुको अर्को प्रमुख कारण बैंक वित्तीय संस्था र बीमा कम्पनीको चार गुणा भन्दा बढिको पुँजी बृद्धिले दोस्रो बजारमा सप्लाइ बढायो। सप्लाइ बढ्दा बजार सुधार हुनु भन्दा धेरै घट्ने अवस्था सिर्जना भयो।
बजारको बियरिस ट्रेण्ड त्यतिवेला सुरू भयो जतिवेला संविधान सभाको चुनावको लागि बाम गठबन्धन बन्यो। कम्युनिष्ट सरकार आउदै गर्दा लगानीको ढोका बन्द हुने र यसले बजारलाई असर पार्ने आकलन गरियो। यसको असर विगत दुई वर्षसम्म देखा पर्यो। शेयर बजारले यस सरकारलाई रूचाएन।

तर पछिल्लो समय अर्थमन्त्री शेयर बजारको गिरावटका सबैभन्दा धेरै दोषी ठहरिए। यसले गर्दा उनले पछिल्लो समय सुधारिएका भाषण गरिरहेका छन्। लगानीको लागि सबैलाई आह्वान गरिरहेका छन्।

एक महिना अगाडि दोस्रो बजार सुधारका लागि उनी मन्त्रीबाट हेट्ने भन्दै हल्ला चलाइयो। जसले बजारमा एका एक सुधार ल्यायो। यसै अवधिमा उनले बजार प्रति थप सुधारका अभिव्यक्ती दिए। बजार सुधार सँगै स्थायित्वका लागि लगानीकर्ताहरूलाई आह्वान गरे। एक बजार विश्लेषकले भने उनको यस्ता अभिव्यक्तिले अव उनी अर्थमन्त्री रहे पनि नरहे पनि बजार सुधारका लागि असर गर्दैन।

सूचिकृत कम्पनी मध्ये १५० वटा भन्दा धेरैले साधारणसभा सम्पन्न गरिसेका छन। अधिकांश यस वर्ष बोनस शेयरलाई भन्दा नगद लाभांसलाई प्राथमिकता दिदै आएका छन्। कम्पनीहरूले प्रदान गरेको नगद लाभांसले पनि दोस्रो बजारमा कारोबार रकम बढिरहेको विश्लेषक तिवारीले बताए।

विगतमा केही राम्रो पोर्टफेलियो भएका लगानीकर्ताहरूसँग अहिले राम्रो पैसा छ। जसले गर्दा उनीहरूले शेयरमा लगानी गर्न सक्छन्। बजार सुधारसँगै बढेका कम्पनीको शेयर बिक्री गर्ने र त्यही पैसाले अर्को कम्पनी खरिद गर्ने ट्रेण्डले पनि दोस्रो बजारमा कारोबार रकम बढिरहेको छ।

लगानीकर्ताहरूले पोर्टफेलियो परिवर्तन गर्दा ८० प्रतिशत कारोबार बजार भित्रैबाट चल्ने एक ब्रोकरले जानकारी दिए। अहिले भएको कारोबारको २० प्रतिशत मात्रै नयाँ पैसा भएको उनले बताए। लघुवित्तको शेयर बढेपछि आज बेच्ने उक्त पैसा आउछ भन्ने भएपछि तुरून्तै अर्को कम्पनीमा लगानी गर्ने प्रवृत्ति हावी भएको छ।

भविष्यमा के होला?
शेयर बजार लगातार सुधार भैरहेने तथा लगातार घटिरहनुलाई राम्रो मानिदैन। पछिल्लो दुई महिनाको अवधिमा शेयर बजार झण्डै दुई सय अंकले सुधार भैसकेको छ। यसरी बजार लगातार सुधार भैरहेदा लगानीकर्ताहरू सचेत हुनु पर्ने अर्का बजार विश्लेषक ज्योति दाहाल बताउँछन्।

यस सुधारको पनि केही दिन पछि करेक्सन हुन थाल्ने विश्लेषकहरू बताउछन्। बजार सुधारका लागि आवश्यक पर्ने पैसाको भने अझै अभाव छ। अहिले भैरहेको कारोबारको ८० प्रतिशत रकम पोर्टफेलियो परिवर्तन गर्दाको परिणाम हो।

विगत एक वर्षको अवधिको बजारलाई हेर्दा बजार दुई वटा ठूला ‘अप डाउन’ पार गरिसकेको छ। पहिला ११०२ बाट बढेर अधिकतम १३१९ अंकसम्म पुग्यो। त्यसपछि करेक्सन भएर १११० अंकको लाइनमा आयो। यसैलाई आधार बनाएर पुनः बजार सुधारको क्रममा छ। विश्लेकका अनुसार यो उकालो लाग्ने क्रम अब कम्तिमा पनि १३२० को लाइन भन्दा माथि जानेछ। जसले गर्दा पछिल्लो समय लगानीकर्ताहरू भैरहेकै शेयरलाई घुमाएर खरिद बिक्री भैरहेको छ।

तर बजार पुनः करेक्सनको फेसमा अगाडि बढ्नेछ। यसले गर्दा केही समय ‘पेनिक फल’ हुन सक्ने विश्लेषकहरू बताउँछन्। यसको प्रमुख कारण बजारलाई घट्न रोक्ने प्रयाप्त पैसा आउन सकेको छैन। यदि बैंकहरूको कर्जा विस्तार रोकिएर उनीहरूको ध्यान शेयर कर्जामा केन्द्रित भयो भने बजार बढाउन थप मद्दत गर्नेछ। अन्यथा बजारमा केही समय पछि करेक्सन सुरू हुनेछ। यो करेक्सन पहिलाको ११२० अंकको लाइन भन्दा तल आउने छैन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्