सभामुखको उम्मेदवार तय भएको केहि मिनेटमै राजीनामा दिने : उपसभामुख



उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार तय भएको केहि मिनेटमै आफूले पदबाट राजीनामा दिने बताएकी छन् ।

बुधबार नुवाकोटको बेत्रावतीमा गोसाईंकुण्ड युवा क्लबले आयोजना गरेको गोरु जुधाइ प्रदर्शनीमा उपसभामुख तुम्बाहाङ्फेले सभामुख चयन गर्ने निर्वाचन प्रक्रिया पुरा गरेपछि राजीनामा दिने बताएकी हुन् ।

प्रतिनिधिसभाको जेष्ठ सदस्यले अध्यक्षता गर्ने व्यवस्था गरेर मात्रै राजीनामा दिने तुम्बाहाङफेको भनाइ छ।आफू सभामुख चयनको बाधक नभएको भन्दै उनले संविधान अनुसार नै काम गरिरहेको बताइन् ।

‘सभामुख पद रिक्त छ । प्रतिनिधिसभाको नेतृत्व अहिले उपसभामुखले गरिरहेको छ,’ तुम्बाहाङ्फेले भनिन, ‘यस्तो अवस्थामा एउटा अर्को कुनै दलले राजीनामा देऊ भनेर निर्देशन दिन मिल्दैन् । सभामुख लिने दलले उम्मेदवार तय गर्नुस। म निर्वाचन प्रक्रिया पुरा गरेर राजीनामा दिन्छु ।’

सभामुखमा पदमा आफ्नो पनि दाबेदारी रहेको तुम्बाहाङ्फेले बताइन् । आफू दलको सदस्य नभएकाले दलले के गर्छ थाहा नभएको उनको तर्क छ । ‘संविधानले जे गर भनेको छ,म त्यही गर्छु,’ तुम्बाहाङ्फेले भनिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्