“निजी क्षेत्रलाई त्रसित बनाएर आर्थिक उन्नति हुन सक्दैन” : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई त्रसित बनाएर आर्थिक उन्नति हुन सक्दैन भन्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारणसभा तथा ७० औँ चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन विभिन्न जिल्ला चेम्बर तथा नगर चेम्बरको प्रतिनिधित्व गरी आएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन्।

उक्त अवसरमा प्रधानमन्त्रीले प्रतिनिधिमण्डललाई स्वागत गर्दै राष्ट्र निर्माणको महाअभियानमा समर्पित वर्तमान सरकारको प्रयासलाई आ-आफ्नो क्षेत्रबाट भरपुर सहयोग र सघाउन आग्रह गरे।

विद्यमान अर्थतन्त्र तथा सुधारका विविध पक्षबारे विस्तृत चर्चा गर्दै प्रधानमन्त्री ओलीले उद्योग, वाणिज्य एवं आर्थिक क्षेत्रका समस्या सम्बोधन गर्न प्रयासरत रहेको बताउदैै अनावश्यक खर्च कटौती गरी निष्क्रिय सम्पत्तिलाई उत्पादनशील एवं रोजगारमुखी कार्यमा लगानी गर्न सबैलाई आग्रह गरे।

सरकार उद्यमी-व्यवसायीको सहयोगी हो तर निजी क्षेत्रले पनि आफ्नो इमानदारिता कायम राख्नुपर्ने प्रधानमन्त्री ओलीले जोड दिए। ‘नयाँ संरचनामा रुपान्तरण हुँदा समस्या अवश्य हुन्छन्, हामीकहाँ समस्या हुँदै नभएको भन्ने होइन। क्षेत्रगत रुपमा ती समस्या पहिचान गरी सम्बोधन गर्न सरकारले इमानदारीसाथ प्रयास गरिरहेको छ,’ ओलीले भने। त्यस अवसरमा ओलीले सरकारले गरेको कामको सकारात्मक पक्षको उचित सम्प्रेषण हुन नपाएको हो कि भनी प्रश्नसमेत गरेका थिए।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपालको व्यवसायिक क्षेत्रका सम्भावना तथा चेम्बर गतिविधिवारे चर्चा गरेका थिए। अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सुस्वास्थ्यको कामनासमेत दिएका थिए।

अहिलेको सन्दर्भमा राजनीतिक विकेन्द्रीकरण उपयुक्त भए पनि आर्थिक विकेन्द्रीकरणले व्यवसायीक लागत वढाएको चेम्बरले अनुभव गरेको उनले बताएका थिए। करका दर बढ्दा अनाधिकृत व्यापार बढ्ने भएकाले यसको प्रत्यक्ष भार उपभोक्ता मूल्यसूचीमा पर्नेमा उनले जोड दिए।

नेपालमा पर्यटन र जलस्रोतबाहेक कृषि र जडीबुटीको पनि प्रचूर सम्भाव्यता रहेकोले यसतर्फ पनि कार्ययोजना सहित प्याकेज कार्यक्रम ल्याउनुपर्ने उनले जनाए।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी तथा विभिन्न जिल्ला तथा नगरबाट आएका जिल्ला तथा नगर चेम्बरका अध्यक्षलगायतको उपस्थिति रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्