विदेशस्थित नियोगहरुले डिमाण्ड अपलोड गर्न छाडे, परराष्ट्र धाउँदै विभागका महानिर्देशक



काठमाडौं : वैदेशिक रोजगार विभागले सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मार्फत श्रम स्वीकृति दिन शुरु गरेको प्रक्रियामा विदेशस्थित नेपाली नियोगहरुले जनशक्तिको अभाव देखाएर ढिलासुस्ती गरेका छन् ।

विभागले उक्त प्रणालीको औपचारिक रुपमा कार्यान्वयन शुरु गरेको दिन गत पुस १६ गते अर्थात अंग्रेजी नयाँ वर्ष २०२० को जनवरी १ तारिखका दिन मलेसिया, यूएई, कुवेत, कतार र साउदी अरबस्थित नेपाली दूतावासले डिमाण्ड प्रमाणीकरण गरेको मागपत्रको फाईल विभागले ह्याण्डिल गर्ने सूचना प्रणालीमा राख्न सुरु भएको बताएको थियो । तर, त्यसको दुईहप्तापछि ती सवै दूतावासले तालिम प्राप्त जनशक्तिको अभाव देखाएर पुरानै प्रणालीबाट काम गर्न उपयुक्त हुने भन्दै सुचना प्रणालीमा डिमाण्ड अपलोड गर्न छोडेको वैदेशिक रोजगार व्यवसायीहरुको भनाइ छ ।

अनलाइन प्रणालीमा डिमाण्ड आउन ढिला भएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भूर्तेलले बुधबार खाडीसिथत सबै नेपाली नियोगहरुमा टेलिफोन गरी बुझेको र सबै दूतावासहरुले डिमाण्ड अपलोड गर्ने प्राविधिक जनशक्ति नरहेका कारण तत्कालका लागि अनलाइन प्रणालीमा मागपत्र अपलोड गर्न नसक्ने एकै प्रकृतिको जवाफ दिएको बताए । उनले भने, ‘दुतावासहरुमा कुराकानी भएपछि हामीले विभागका महानिर्देशक ज्यूलाई जानकारी गराएका छौं ।’

विभागले २०७५ असोज १५ गतेदखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको शुरुवात गरेको भएपनि गत जनवरी १ तारिखदेखि सबै तयारी पूरा भएको भन्दै मागपत्र, करारपत्र लगायतका कागजी प्रक्रियालाई सरलीकृत गर्ने र श्रम स्वीकृतिको प्रक्रियामा सकेसम्म अनलाइन प्रणालीबाटै पूरा गर्ने बताएको थियो । विभागले ह्याण्डिल गरेको सूचना प्रणालीमा वैदेशिक रोजगारीमा जाने कामदार, विदेशस्थित नेपाली कूटनीतिक नियोग, बीमा कम्पनीहरु, राहदानी विभाग, अध्यागमन विभाग, वैदेशिक रोजगार बोर्ड, बैंक, कन्सुलर सेवा विभाग, वैदेशिक रोजगार व्यवसायी संघ, तालिम प्रदायक संस्था, मेडिकल तथा श्रम रोजगार कार्यालय गरी एक दर्जन बढी संस्था आबद्ध छन् ।

विभागले शुरुमै विदेशस्थित नियोग र नेपालका बीमा कम्पनीबाट पर्याप्त सहयोग नहुने हो कि भन्ने आशंका गरेको थियो । कार्यान्वयनका क्रममा त्यस्तै अवस्था उत्पन भएपछि विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले बुधबार दिनभर परराष्ट्र मन्त्रालयमा समस्याको समाधानका विषयमा परामर्श गरेका छन् ।

उक्त प्रणाली लागू हुनु अघि पटक–पटक पत्राचार गरेर विभागले उपलब्ध गराएको यूजर आइडी र पासवर्ड लिन आग्रह गरको भएपनि नियोगहरुले युजरनेम र पासवर्ड लिन तदारुकता देखाएका थिएनन् । नेपालको विदेशमा २८ वटा कूटनितिक नियोगहरु छन् । त्यस मध्ये धेरै नेपाली कामदार वैदेशिक रोजगारीका लागि खाडीका ६ मुलुक र मलेसिया जाने गरेका छन् । ती मुलुकमै समस्या देखिएको हो ।

विभागले गत जनवरी १ तारिखदेखि अनलाइन प्रणालीमा नआएका डिमाण्डबाट पूर्व स्वीकृति निदिने बताएको छ । ती मुलुकबाट अनलाइन प्रणालीमा दूतावासले प्रमाणीकरण गरेका डिमाण्डका कागजात नआए वैदेशिक रोजगारमा पुनः समस्या देखिने आंकलन गरिएको छ ।

अनलाइन प्रणालीबाट पछाडि हट्ने कुनै सम्भावना नरहेको उद्घोष गरेका महानिर्देशक डा. भूसालले भने शुरुमा केही समस्या र असहज भएपनि अनलाइन प्रणालीबाट काम गर्नुको विकल्प नरहेकोले कुनै पनि हालतमा लागू गराउने बताउँदै आएका छन् । महानिर्देशक डा. भूसालले उक्त प्रणाली लागू भएपछि श्रम स्वीकृतिको नक्कली स्टिकर बनाई ठगी गर्ने र कागजातको बाध्यता देखाएर रकम असुल्नेहरुलाई समेत नियन्त्रण गरी वैदेशिक रोजगार प्रशासन स्वच्छ हुने बताइरहेका छन् । विभागले प्रणालीका विषयमा व्यवसायीहरुलाई तालिम समेत दिइसकेको छ । तर सरकारी निकायबाटै असहयोग हुने कतिपयको चिन्ता छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्