बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच भएको छलफलमा यस्तो निष्कर्ष आयो



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीचको छलफलमा सत्यनिरुपण तथा मेलमिलापसम्बन्धी कानून बनाएर अघि बढ्ने सहमति भएको छ ।

तीनवटै नेताबीच शुक्रवार बिहान बालुवाटारमा छलफल भएको थियो । बैठकमा सभापति देउवासँगै डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखक उपस्थित भएका थिए भने नेकपाका तर्फबाट अध्यक्षद्वयसँगै सुवासचन्द्र नेम्वाङ र अधिवक्ता खिमलाल देवकोटा सहभागी थिए ।

गत पुस २८ गते कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले देशैभर अन्तरक्रिया कार्यक्रम गरेको थियो । अन्तरक्रिया कार्यक्रमपछि आएका सुझावहरू समेटेर तयार पारिएको प्रतिवेदन नेतात्रयले बुझेका थिए । प्राप्त सुझावका समेटेर सहमतिमा नयाँ कानून बनाएर अघि बढ्ने सहमति भएको छ, बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने, कानून मन्त्रालयले तयार पारेको मस्यौदा संसदमा पेश गरेर नयाँ कानून बनाउने विषयमा सबैको एकमत रह्यो ।

गतसाल चैत्र मसान्तदेखि सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग पदाधिकारीबिहीन छन् । पदाधिकारी नियुक्तिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समितिसमेत बनेको छ ।

राजनीतिक सहमति नजुट्दा सिफारिस समितिले पदाधिकारीको नाम सिफारिस गर्न सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्