पुरानो हिउँ पग्लिन नपाउँदै सुदूरपश्चिममा पाँचौं पटक फेरी हिमपात, जनजीवन कष्टकर



काठमाडौँ । बुधबारदेखिको मौसममा आएको परिवर्तनका सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा फेरी पाँचौं पटक हिमपात शुरु भएको छ । पहिले परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएपछि जनजीवन निकै प्रभावित बनेको हो । सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा र बैतडी जिल्लाका उच्च लेकाली क्षेत्रमा बिहीबार रातिदेखि फेरि हिमपात शुरु भएको हो। हिमपात भएसँगै चिसो बढेपछि त्यहाँको जनजीवन पनि निकै कष्टकर बनेको छ ।

डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोबडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको स्थानीयवासीले  बताएका छन् ।

हिमपातका कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ । यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने मध्यपहाडी क्षेत्रमा वर्षा भइरहेको छ ।

पानी र हिमपातका कारण यहाँको तापक्रम निकै घटेको छ । चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सर्तकता अपनाउनु पर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्