प्रधानमन्त्री ओली र मोदीले ‘भिडियो कन्फरेन्स’ मार्फत आईसीपीको उद्घाटन गर्ने



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा ‘भिडियो कन्फरेन्स’ मार्फत आईसीपीको उद्घाटन गर्ने भएका छन् ।

उनीहरुले विराटनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) उद्घाटन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीद्वय ओली र मोदीले ७ माघमा संयुक्त रूपमा उक्त आईसीपीको डिजिटल (भिडियो कन्फ्रेन्स)मार्फत उद्घाटन गर्ने भएका हुन् । प्रधानमन्त्री ओली सिंहदरबारबाट र मोदी दिल्लीबाट भिडियो कन्फरेन्समा जोडिने तयारी भएको छ ।

उद्घाटनका क्रममा भारतीय सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी घरसमेत हस्तान्तरण हुने कार्यक्रम रहेको बताइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले त्यसको पुष्टि गरेका छन् ।

यसअघि नै ती घर हस्तान्तरण गर्ने तयारी गरिएको थियो । तर, सम्भव हुन सकेका थिएन । यसपटक ७ माघमा भारतको सहयोगमा बनेका निजी आवास हस्तान्तरण हुन लागेको हो ।

भारतीय सहयोगमा गोरखामा २७ हजार घर पुनर्निर्माण भएका छन् । भारतले नुवाकोट र गोरखामा गरी ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको प्राधिकरणले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्