द्वन्द्वकालीन मुद्दा सुल्झाउन सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच भयो दुई बुँदे समझदारी



काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच द्वन्द्वकालीन मुद्दा समाधान गर्न दुई बुँदे समझदारी भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान बसेको दुवै दलका शीर्ष नेताहरूको बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा नियुक्ति र कानुन निर्माणबारे समझदारी भएको हो । दुवै आयोगसँग सम्बन्धित कानुनलाई संसदबाट प्राथमिकताका साथ पारित गर्ने समझदारी भएको कांग्रेस नेता रमेश लेखकले बताए।

‘शान्ति प्रक्रियाका बारेमा छलफल भएको हो। कानुनहरूलाई अगाडि बढाउने सहमति भएको छ,’ उनले भने, ‘आज सिफारिस कमिटी बैठक बस्दैछ। उसले पदाधिकारी सिफारिस गरेलगत्तै मन्त्रिपरिषद बैठक बसेर नाम पारित गर्ने सहमति भएको छ।’

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरेको थियो। उक्त समितिको बैठक अहिले बसिरहेको स्रोतले बताएको छ।

उक्त समितिले दुवै आयोगमा पदाधिकारी सिफारिस गरेलगत्तै मन्त्रिपरिषद बैठक बसेर नाम अनुमोदन गरिने दुवै दलबीच सहमति भएको बैठकमा सहभागी नेकपा नेता खिमलाल देवकोटाले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्