अपराध

लागुऔषध सहित सातजना पक्राउ

By थाहा अनलाइन

January 18, 2020

हेटौँडा : मकवानपुर प्रहरीले शुक्रबार हेटौंडा-९ स्थित सुरेश त्रिपाठीको घरबाट लागुऔषध प्रयोगकर्ता सातजनालाई एकैस्थानबाट पक्राउ गरेको छ। दुईजना युवतीसहित सातजनालाई पक्राउ गरेको प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

शुक्रबार साँझ साढे ५ बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको गस्ती टोलीले त्रिपाठीको घरमा शंकास्पद अवस्थामा मानिस बसेको उनीहरूलाई सुरक्षा जाँच गर्दा लागुऔषध गाँजालगायतका सामानहरूसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान तथा कार्वाही भइरहेको जनाएको छ।

प्रहरीले हेटौँडा-१० का २० वर्षीय संगीत रायमाझी, १८ वर्षीया दिक्षा भट्टाचार्य, १८ वर्षीया निशा कुशवार, हेटौँडा-४ का २६ वर्षीय सन्दीप न्यौपाने, हेटौँडा-९ का २५ वर्षीय विश्वजंग रायमाझी, हेटौँडा-५ का १८ वर्षीय अभिसेक ठकुरी र हेटौँडा-१ का २५ वर्षीय निखिल लामालाई पक्राउ गरेको छ।

लागुऔषध प्रयोगकर्ताको साथबाट प्रहरीले लागुऔषध गाँजा ५७० ग्राम, लागुऔषध गाँजाको धुलो ८० ग्राम, बाँसमा कालो टेपले बेरेको चिमनी १ थान, माटोको चिमनी १ थान, लाईटर १ थान, मूर्ति जस्तो देखिने चिमनी १ थान, ग्यास रिफिल ३०० एमएलको १ थान, अनटेस्ट स्कुटर एउटा, ना. ५३ प २७३४ नम्बरको स्कुटर र ना. २२ प ३९४८ नम्बरको पल्सर मोटरसाइकल बरामद भएको प्रहरीले उल्लेख गरेको छ।