सौराहा होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा



काठमाडौं । पर्यटकीय नगरी सौराहामा पर्यटकको सङ्ख्या घट्दै गएपछि व्यवसायी चिन्तित हुन थालेका छन् । नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधँै एउटै पन पाउने हुँदा दोहो¥याएर आउन छाडेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायिक वनमा हुने एउटै गतिविधि मात्र हुने भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या विगतका वर्षको सङ्ख्यामा हुन नसकेको बताइएको छ । राष्ट्रिय र अन्तर्रा्ष्ट्रियरुपमा बजारिकरण र प्रचारप्रसार हुन नसक्दा नयाँ पर्यटक थपिने क्रम पनि घटेको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले नयाँ कार्यक्रम दिन नसक्दा पर्यटक घट्दै गएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्षौंदेखि एउटै गतिविधि मात्र भएकाले पर्यटकको सङ्ख्या बढ्न सकेन ।” निकुञ्जभित्र हरेक दिन प्रवेश शुल्क लाग्ने, हात्ती प्रवेश गराउन नपाइने, नयाँ गतिविधि गर्न नसकीने हुँदा समस्या उत्पन्न भएको उहाँले गुनासो गर्नुभयो ।

निकुञ्जलाई पर्यटकले शुल्क बुझाएर पनि हात्ती चढेर सामुदायिक वनमात्र घुम्नुपर्ने बाध्यता छ । जीप सफारी, जङ्गलमा पैदलयात्रा, डुङ्गा सयर, हात्ती र गोही प्रजनन केन्द्रको अवलोकन, थारु सङ्ग्रहालय, थारु संस्कृति अवलोकनमा यहाँका पर्यटक आकर्षण गर्ने क्षेत्र हुन् । पहिलोपटक आउने पर्यटकलाई यी गतिविधि आफैँमा रमाइलो हुने भए पनि पुनः आउँदा नयाँ कार्यक्रम खोज्ने भए पनि दिन नसकिएको जनाइएको छ ।

वर्षेनी निकुञ्ज प्रवेशको राजश्व बढ्दै जाँदा पर्यटकको खर्च पनि बढ्दै जाने गरेको छ । खर्च धेरै हुने र नयाँ पन पाउन नसक्ने भए पछि दोहो¥याएर पर्यटक आउने क्रम घटेको छ । अध्यक्ष भट्टराईले निकुञ्ज बाहिर रात्रिकालीन जीप सफारी, धार्मिक पर्यटकीयस्थलको भ्रमण गराउनेजस्ता नयाँ कार्यक्रम गर्न लागेको बताउनुहुन्छ । क्षेत्रीय होटल सङ्घका वरिष्ठ उपाध्यक्ष राममणि खनाल होटलको सङ्ख्या बढ्दै जाने तर पर्यटकको सङ्ख्या बढ्न नसकेपछि व्यवसायी धराशायी बन्दै गएको गुनासो गर्नुहुन्छ ।

व्यापार नभएपछि बैंकको ब्याज र किस्ता तिर्न नसक्दा कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको उहाँले गुनसो राख्नुभयो । नयाँ कार्यक्रम दिएर प्रचारप्रसार गर्न नसकिएमा यहाँको पर्यटन व्यवसाय टिक्न नसक्ने खनाल बताउनुहुन्छ । सौराहा क्षेत्रबाहेक अन्यत्र जहाँतहीँ सामुदायिक वनमा पर्यटक छिर्दा निकुञ्ज प्रवेश शुल्क नलाग्ने भए पनि यहाँ सामुदायिक वनमा हात्ती चढ्ने पर्यटकले निकुञ्जलाई राजश्व बुझाउनुपर्ने बाध्यताले खर्चिलो बनेको जनाइएको छ । सौराहा क्षेत्रमा ११५ होटल रहेका छन् । जसमा रु १० अर्बभन्दा बढी लगानी भएको अनुमान छ । यसमध्ये ६० प्रतिशतभन्दा बढी बैंकको लगानी रहेको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका निर्वतमान अध्यक्ष सुमन घिमिरे पर्यटक आइदिए हुन्थ्यो भन्ने मात्र चाहना व्यवसायीमा हुँदा सङ्ख्या बढ्न नसकेको बताउनुहुन्छ । नयाँ कार्यक्रम दिएर राष्ट्रिय र अन्तर्रा्ष्ट्रियरुपमा बजारीकरण एवं प्रचारप्रसार हुन नसकेमा यस क्षेत्रको पर्यटन व्यवसाय धराशायी हुने उहाँको चिन्ता छ । उहाँले भन्नुभयो, “यही हिसाबले अघि बढ्यो भने यहाँको पर्यटन व्यवसाय विस्थापित हुन सक्छ ।”

पर्यटकीय क्षेत्रका सडक, विद्युत्जस्ता पूर्वाधारमा सरकारको मुख ताके पनि अन्य गतिविधिमा व्यवसायी आफैँ अघि बढ्नुपर्ने र नयाँ प्याकेज उत्पादन गरी बजारीकरण अहिलेको अपरिहार्यता रहेको निवर्तमान अध्यक्ष घिमिरेले जनाउनुभयो । पहिले पहिले वर्षात्को समयमा होटलक कर्मचारीलाई व्यापार नभएपछि बिदा दिने गरिन्थ्यो । झण्डै १० वर्षयता वर्षात्मा समेत पर्यटक आउन थालेपछि बिदा दिन रोकिएकोमा पछिल्ला वर्षमा वर्षात्को समयमा पर्यटक निकै कम मात्र आउन थालेको व्यवसायी बताउँछन् ।

क्रिसमस र नयाँ वर्षपछि यतिबेला गत वर्षहरुमा पर्यटकको आगमन बढ्न शुरु हुन्थ्यो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष भट्टराई यस वर्ष भ्रमण वर्षका अवसरमा छुटका प्याकेज दिइएको भए पनि पर्यटक आगमनमा निकै कमी रहेको बताउनुभयो । अहिले दैनिक २५० हाराहारी पर्यटक सौराहा आउने गरेको उहाँले बताउनुभयो । विगतका वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक आउने गर्दथे । अहिले आएका चिनियाँ पर्यटक केही सीमित होटलमा आउने भएकाले अन्य होटल सुनसान रहेका छन् । यहाँबाट दैनिक आठ वटा वस काठमाडौँ र चार वटा बस पोखरा चल्ने गर्दछन् । ती बसमा न्यून पर्यटकमात्र हुने गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्