घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु, मकवानपुरमा बसको ठक्कबाट साइकलयात्रीको ज्यान गयो



काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ ।

घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए । उनले लामो समयदेखि वडासचिवका रुपमा काम गर्दै आएका थिए ।

यता मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्