गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौं। गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठले दिएको जाहेरीका विषयमा अनुसन्धान गर्न गायिका राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिए ।

गायिका राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाइ सकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेसँगै प्रहरीले राउतको खोजी शुरु गरेको छ । गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन् ।

उनले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएसँगै विमानस्थल सुरक्षा कार्यालयले तालुकदार कार्यालयल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा उजुरीसहितको कागजपत्र पठाएको थियो ।

रानीपोखरीले सीसीटीभीको प्रारम्भिक अनुसन्धान गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरी मुद्दा प्रकृया अघि बढाउन महानरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्