काठमाडौँ । सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने, युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।
‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता पुडासैनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको थियो र आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा चलाइएको थियो ।
यसअघि चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्दा चलाइएका रवि लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
त्यस्तै अर्की अभियुक्त अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको थियो । यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । विभिन्न चरणको वहस पछि आज भएको अन्तिम बहस पछि यो फैसला सुनाइएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।