अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय



काठमाडौं । नेकपाले प्रतिनिधिसभाको सभामुख पदको उम्मेदवार नेता अग्नि प्रसाद सापकोटालाई बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

यसअघि आइतबार बिहान नै नेता सापकोटाको नाममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सहमति भएकोमा सचिवालय बैठकले औपचारिक निर्णय गरेको हो । तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ भने सो पद कसले लिने भन्नेमा नेकपाभित्र विवाद बन्दै गएकोमा आइतबार ओली र प्रचण्डबीच पूर्वमाओवादी समूहका सापकोटाको नाममा सहमति जुटेको हो ।

सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा गत पुस ११, १६ र २७ गतेका प्रतिनिधिसभाका बैठक स्थगन भई सोमबारका लागि तोकिएको छ । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन नेकपा सचिवालयको यसअघिको बैठकले आग्रह गरिसकेको थियो ।

गत पुस ४ गतेदेखि सङ्घीय संसद्को पाँचौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक शुरु भए पनि नियमित रुपमा नचली स्थगन हुँदै आएको छ । संसद् सचिवालयका एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।

सत्तारूढ नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेकाले प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ । सभामुख र उपसभामुख फरक फरक दलबाट चयन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्