दाङलाई समृद्ध बनाउन मेरो उम्मेदवारी हो



– कृष्णबहादुर महरा 
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, दाङ– २

दाङ निर्वाचन क्षेत्र नं २ मा तपाईको उम्मेदवारी किन ?

हामीले समग्र रुपमा देशलाई हेर्नुपर्छ । राजनीतिक संक्रमणको अन्त्यसँगै देश समृद्धिको दिशामा अघि बढिरहेको छ । यस अन्तर्गत हामीले पश्चिम नेपालकै केन्द्रमा रहेको दाङलाई समृद्ध बनाउनको निम्ति गहन जिम्मेवारी लिनुपर्ने छ ।

आगामी पाँच वर्षमा दाङलाई समृद्ध बनाउन मेरो उम्मेदवारी हो । यसका धेरै पाटाहरु छन् । दाङले सिंगो पश्चिम नेपाललाई नेतृत्व गर्न सक्छ । अहिले पनि दाङ पुरानो राप्ती अञ्चलको केन्द्रविन्दु हो । दाङलाई ५ नं. प्रदेश, ६ नं. प्रदेश र ७ नं. प्रदेशलाई लिड गर्ने गरी अगाडि बढाउनु पर्छ । त्यसको निम्ति मैले आफ्नो उम्मेदवारी दाङलाई रोजेको छु ।

यो निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारहरु पनि हुनुहुन्छ । आम मतदाताले अरु उम्मेदवारलाई मत नदिएर तपाईलाई नै मत दिनुपर्ने कारण के ?

अरु पनि उम्मेदवार हुनुहुन्छ । उहाँहरुले आफ्नो ठाउँबाट आफ्नो हैसियत अनुसार प्रयास गर्नुहुने नै छ भन्ने मैले विश्वास गर्छु । मेरो लामो राजनीतिक इतिहास, मैले हिजो जनयुद्धको बेला होस् अथवा त्यस पछिको शान्तिवार्ता हुँदै संविधान निर्माणसम्म मैले खेलेको भूमिका नै हो ।

२०६४ सालमा यहीबाट निर्वाचित भएर मैले संविधान निर्माणमा खेलेको भूमिका नै हो । दाङसँग मेरो भावनात्मक सम्बन्ध छ । मैले सरकार र अन्तर्राष्ट्रिय समुदायमा खेल्न सक्ने मेरो आत्मविश्वास रहेको छ । अहिले पनि मैले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा राम्रो पहककदमी लिन सक्छु । मलाई मतदाताहरुले फेरि मतदान गरेर दाङको समृद्धि र समग्र मुलुकको नेतृत्वका लागि सहयोग गर्नुपर्छ भन्न मेरो भनाई हो ।

तपाई अर्थमन्त्री हुँदा छोटो समयमा दाङमा करोडौं बजेट विनियोजन भयो । तपाईले दाङको विकासमा कुन क्षेत्रलाई बढी प्राथमिकता दिनुभएको छ ?

मुख्य त म अर्थमन्त्री हुँदा दाङको सडक निर्माणमा धेरै बजेट विनियोजन भएको छ । मैले जिल्लामा विनियोजन गरेको बजेटको सही सदुपयोग भयो कि भएन भनेर अझै हेर्न बाँकी छ ।

दाङ जिल्लामा वार्षिक झण्डै १४/१५ करोड विनियोजन हुँदै आएको थियो । म अर्थमन्त्री हुँदा दाङमा दुई/तीन अर्ब नै बजेट विनियोजन भयो । यो उल्लेखनीय कुरा हो । म अर्थमन्त्री हुँदा घोराहीदेखि मुर्कुटी हुँदै प्यूठान जोड्ने सडक, दाङ–सुर्खेत सडक, सहिद मार्ग लगायतका ठूला योजनाका सडकमा बजेट विनियोजन भएको छ ।

तपाईले समृद्ध दाङको कुरालाई निकै जोडतोडका साथ उठाइरहनुभएको छ । समृद्ध दाङका आधारहरु के देख्नुभएको छ ? दाङ समृद्ध बनाउनको लागि तपाईहरुसँग के योजना छ ?

दाङ उपत्यका एशियाकै दोस्रो ठूलो उपत्यका हो । नेपालको सबैभन्दा ठूलो उपत्यका हो । भूगोलले हामीलाई निकै साथ दिएको छ ।

दोस्रो, कुरा वातावरणीय हिसाबले निकै राम्रो छ । यो विशुद्ध तराई होइन । यो पूरै पहाड पनि होइन । यहाँको समुदाय असाध्यै सहमतिपूर्ण तरिकाले अघि बढ्न सक्ने सम्भावना छ ।

तेस्रो, कुरा यहाँबाट पश्चिम नेपालका ६ नं र ७ नं प्रदेशका प्रमुख शहरहरु जोडिदैछन् । यहाँ अन्तर्राष्ट्रिय विमानस्थलको राम्रो सम्भावना रहेको छ । दाङ लुम्बिनीको बैकल्पिक बासस्थान बन्न सक्छ । लुम्बिनी सीमा क्षेत्रमा छ । त्यहाँ निकै गर्मी हुन्छ । त्यहाँबाट बस्नको लागि पर्यटकहरुलाई यहाँ ल्याउन सकिन्छ । यहाँ पनि केही पर्यटकीय क्षेत्रको विकास गर्न सकिन्छ ।

यही बाटो भएर प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी जान सकिन्छ । जलजला, छायाक्षेत्र र कर्णालीको रारालाई दाङसँग जोड्न सकिन्छ । यी सबै क्षेत्रलाई हामीले जोडेर यसलाई केन्द्रविन्दु बनाउनु पर्छ । यसको आधारमा दाङ यस क्षेत्रकै आर्थिक हव बन्न सक्छ ।

दाङमा प्रशस्त कृषियोग्य जमिन छ । यहाँको जनसंख्याको ठूलो हिस्सा कृषि व्यवसायमा छ । हामीले सिचाइको उचित व्यवस्था गर्न सक्ने हो भने कृषि उत्पादनमा उल्लेख्य बढ्न जान्छ । यी कारणले समृद्ध दाङ सम्भव छ । पाँच नम्बर प्रदेशको राजधानी दाङ हुने सम्भावना बढेको छ । मैले त्यसका लागि मेरो तर्फबाट पहल गरिरहेको छु र आगामी दिनमा पनि पहल गर्नेछु ।

तपाईहरु अहिले नेकपा एमालेसँग चुनावी गठबन्धनमा हुनुहुन्छ । यो गठबन्धनको मुख्य उद्देश्य के हो ?

सामाजिक, आर्थिक रुपान्तरणका सवालमा कम्युनिष्ट विचारधारामा आधारित वामपन्थी, प्रगतिशील शक्तिहरु नै अगाडि छन् ।

नेपाली कांग्रेस यस मानेमा अलि संकीर्ण छ । उ परम्परागत उत्पादन सम्बन्धमै चल्न चाहन्छ । आर्थिक उत्पादन र उत्पादक शक्तिहरुको सम्बन्धमा उ धेरै प्रगतिशील ढंगले सोच्न सक्दैन । उसको तुलनमा वामपन्थी, प्रगतिशील खास गरेर ठूला पार्टीका हैसियतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अगाडि छन् ।

यसकारण वामपन्थीहरुको एउटा एउटा स्थिर सरकार निर्माण आजको आवश्यकता हो । त्यसको निमित्त वामपन्थी गठबन्धन गरिएको छ ।

तपाईहरुले गठबन्धनका साथै पार्टी एकता गर्ने भन्नुभएको छ । पार्टी एकताका आधारहरु के–के हुन् ?

विचारधारात्मक रुपमा हामीले समाजवादी क्रान्ति सम्पन्न गर्ने कुरा गरेका छौं । हाम्रा विचारमा केही भिन्नता छन् । हामीले बाँकी नेपाली समाजको रुपान्तरणको सम्भावनालाई कसरी सम्बोधन गर्ने ? भन्ने विषयमा अलिकति मतभिन्नता छन् । यी कुरा भए पनि हाम्रो साझा लक्ष्य भनेको समाजवादी क्रान्ति पूरा गर्ने नै हो । यसमा दुई दलबीच खासै धेरै अन्तर छैन ।

राजनीतिक रुपमा पनि समाजवादी क्रान्ति पूरा गर्नका निमित्त हामीले अहिलेको संविधानलाई ठीक ढंगले पूरा गर्ने, संविधानलाई ठीक ढंगले जनतालाई उपयोग गर्ने वातावरण तयार गर्ने र चुनावको माध्यमबाट आर्थिक उन्नति गर्दै जाने भन्ने विषयमा हामीहरुबीच त्यति धेरै अन्तरविरोध छैन । राजनीतिक, वैचारिक छलफल घनिभूत गरेर पार्टी एकता पनि सम्भव छ भन्ने हो ।

पार्टी एकता अहिले भएको छैन । पार्टी एकता संयोजन समिति मात्रै बनाएका छौं । हामीहरु बीच रहेका कतिपय वैचारिक, राजनीतिक विषयहरुमा घनिभूतरुपमा छलफल गरेर पार्टी एकताको निष्कर्षमा पुग्ने आधार हो ।

 

तपाईहरुले चुनवाङ बैठकमा अवलम्वन गरेको कार्यदिशाअनुरुप शान्तिवार्ता, संविधानसभा हुँदै संविधान निर्माण भएर पनि कार्यान्वयनका लागि निर्वाचन हुँदैछ । निर्वाचन सम्पन्न भइसकेपछि चुनवाङ बैठकमा तपाईहरुले लिनुभएको कार्यदिशाको मुलभूत उपलब्धि प्राप्त भइसक्छ । अब तपाईहरुको कार्यदिशा के हुन्छ ?

अब माओवादीले लिएको कार्यदिशाअनुसार क्रान्ति एक ढंगले ग¥यौं । तर, लक्ष्यसम्म पुगेनौं । बीचमा हामी शान्तिवार्ता ग¥यौं । क्रान्तिका बाँकी काम पूरा गर्न अझैं छ । क्रान्तिको बाँकी कार्यभार पूरा गर्नका निमित्त सम्पूर्ण वामपन्थी, प्रगतिशील शक्तिहरु एकजुट हुनुपर्छ ।

अबको लक्ष्य समाजवादी क्रान्ति नै हो । समाजवादी व्यवस्थामा आस्था राख्ने जति शक्तिहरु छन् तिनीहरुलाई एक गठ गराउने र समाजवादी क्रान्ति गर्ने नै हाम्रो मूल लक्ष्य हो । त्यसका लागि हामीले अहिले जे गरिरहेका छौं त्यो भन्दा अघि बढेर समाजवादी क्रान्ति गर्ने नै हाम्रो लक्ष्य हो ।

तपाईहरुले चुनावी तालमेलको साथै पार्टी एकताका लागि भनेर अनपेक्षित रुपमा पार्टी एकता संयोजन समिति गठन गर्नुभयो । यसरी पार्टी आन्तरिक जीवनको यति ठूलो विषयमा तल्लो तहसँग परामर्श नगरिकनै पार्टी नेतृत्व किन एकाएक त्यो हदसम्म पुग्यो ?

एकता भइसकेको छैन । एकताको लागि संयोजन समिति बनेको हो । संयोजन समिति बन्ने बित्तिकै अहिले नै पार्टी एकता भइहाल्यो भन्ने कुरा पनि होइन । एमालेसँग चुनावी तालमेल गर्ने भनेर निर्णय नै भएको छ । त्यही निर्णय अनुसार देशव्यापी तालमेल पनि भएको छ । पार्टी एकताको लागि निर्वाचन पछि शुरु हुन्छ । छलफल हुँदै जाँदा निष्कर्षमा गइन्छ ।

नेतृत्वले पार्टी एकता गरिसक्यो भनेर ठान्नु गलत हो तर, शुरुवात भने भएकै हो ।

माओवादीका नेता तथा कार्यकर्ता र एमालेका नेता तथा कार्यकर्ता फरक–फरक पृष्ठभूमिबाट आएका छन् । पार्टी नेतृत्वबाट एकता घोषणा गरिहाले पनि तल्लो तहसम्म भावनात्मक एकता गर्न त निकै कठिन हुने देखिदैन र ?

देश र जनताको आवश्यकता नै प्रधान हो । एमाले वा माओवादी केन्द्रभित्र अब आफ्नो स्कूलिङबाट मात्र सीमित भएर हुँदैन । तपाईले हाम्रो पार्टीको इतिहास हेर्नुभयो भने हामी एक जमानामा मशाल थियौं । अर्को जमानामा एकता केन्द्र भयौं । अर्को चरणमा गएर माओवादी भयौं । त्यसपछि एकीकृत माओवादी भयौं । त्यसपछि माओवादी केन्द्र भयौं । हामी बदलिरहेका छौं । बदलिदै अघि बढ्नै नै हो ।

पार्टी एकताको प्रकृयामा माओवादी केन्द्र एमालेकरण वा एमाले माओवादीकरण हुने होइन । यो त सिंगो देश परिवर्तनको अनुभूति दिलाउन कम्युनिष्टकरण हुन हामी सबै माथि उठेर एकताबद्ध हुने कुरा हो । दुबै पक्ष रुपान्तरण हुने कुरा हो । उही पुरानो संकीर्ण घेराभित्र बस्दा समस्याको उचित हल हुँदैन ।

त्यसकारणले हामी दुबै पक्ष आ–आफ्नो आधारबाट नयाँ आधारमा उठ्ने जमर्को ग¥यौं भने समस्या हल हुन्छ । आजको वर्गसंघर्षको चुनौती, आजको अन्तरसंघर्षको चुनौतिलाई हल गर्न अझ अघि बढ्नुपर्छ । यो सामाजिक नियम नै हो ।

प्रस्तुति : पाण्डव शर्मा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्