सभामुखको सिफारिसमा परेका अग्नी सापकोटाविरुद्ध अदालतमा मुद्धा, २२ गते पेशी



काठमाडौं । आइतबारमात्र नेपाल कम्युनिस्ट पार्टीबाट सभामुखको सिफारिसमा परेका नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध सर्वोच्च अदालतमा परेको १ मुद्धा र २ वटा रिटमा यही माघ २२ गते सुनुवाइ हुने भएको छ।

उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ। अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेलापरेको थियो। संवैधानिक इजलासले उनको मुद्धा हेरिरहेको छ।

लामाको हत्यामा सापकोटा र पूर्व राज्यमन्त्रीसमेत रहेका सूर्यमान दोङको संलग्नता रहेको भन्दै लामाकी श्रीमती पूर्णिमाया लामाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिएकी थिइन। सो जाहेरी दरखास्तलाई त्यसपछि सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाउन दरपिठ भएको थियो।

उनीमाथि एउटा मुद्धा र दुई वटा रिटमाथि सुनुवाइका लागि अदालतले माघ २२ लाई पेसी तोकिएको पूर्णिमायाका वकिल ओमप्रकाश अर्यालले बताए। सापकोटाविरुद्ध अर्जुन लामाको हत्यासँगै २०६८ असार ६ मा परेको अदालतको अवहेलना सम्बन्धी मुद्दा र २०७२ चैत्र २६ मा अधिकारकर्मी सुशील प्याकुरेलले अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै दायर गरेको रिट पनि सर्वोच्चमा छ।

असार २५ गतेदेखि सर्वोच्च अदालतले सापकोटाविरुद्ध परेका मुद्दा र रिटलाई एउटै लगावमा राखेर सुनुवाइ सुरु गरेको थियो। सापकोटाविरुद्ध मानव अधिकारवादी संस्थाहरूले बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मन्त्री पदमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका थिए।

सोमा सर्वोच्च अदालतले ‘जाहेरी पर्दैमा सार्वजनिक पदमा बहाल हुन रोक लगाउनका लागि अन्तरिम आदेश गर्नु नपर्ने’ भन्दै सापकोटविरुद्धको अभियोगमाथि अनुसन्धान कारवाही अगाडि बढाई त्यसको जानकारी अदालतलाई गराउन परमादेश दिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्