शाही पद खारेज भएपछि राजकुमार ह्यारीले भने- पछि हट्नुबाहेक अन्य कुनै विकल्प नै थिएन



काठमाडौँ । ड्युक अफ ससेक्सले बेलायती राजपरिवारको सदस्यको रुपमा पछि हट्नुबाहेक अन्य कुनै विकल्प नभएको बताएका छन् । आइतबार बेलुका आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू र मेगन अन्त कतै जान नलागेको पनि स्पष्ट पारेका छन् । राजपरिवारको जिम्मेवारी छाड्ने घोषणा गरेपछि ह्यारीको यो पहिलो सम्बोधन हो । जनवरी महिनाको सुरुवातमा राजकुमार ह्यारी र मेगनले राजपरिवारको वरिष्ठ सदस्यको पद त्याग्ने र आर्थिक रुपमा स्वतन्त्र हुने घोषणा गरेका थिए ।

दक्षिणी अफ्रिकामा एचआइभी संक्रमित बालबालिकाका लागि काम गर्ने संस्था सेन्टेबेलको कोष संकलन कार्यक्रमको सुरुवात गर्दै उनले भने, ‘ विगत केही हप्तादेखि तपाईंहरुले जे जति सुन्नुभयो, पढ्नुभयो, त्यसबारे म अनुमान मात्र गर्नसक्छु ।’ ‘त्यसकारण म तपाईंहरुलाई सत्यताबारे अवगत गराउन चाहन्छु, राजकुमारको रुपमा होइन, ड्युकको रुपमा पनि होइन तर ह्यारीको रुपमा ।’सम्बोधनको क्रममा उनले आफ्नी हजुरआमा र आफ्ना कमान्डर इन चिफप्रति सधैंभरी अत्यधिक कृतज्ञ रहिरहने पनि बताएका छन् ।

‘हामीले महारानी, कमनवेल्थ र आफ्ना सैन्य संगठनलाई सामाजिक कोष बिना सहयोग गर्ने आशा राखेका थियौं तर दुर्भाग्यवश, त्यो सफल हुन सकेन,’ उनले भने । मैले यसलाई स्विकार गरेको छु, यसले मेरो पहिचान र मेरो प्रतिबद्धतालाई परिवर्तन गर्दैन भन्ने कुरामा विश्वस्त छु ।’ ह्यारी र मेगनको इन्स्टाग्राम अकाउन्टमा पोष्ट गरिएको ह्यारीको भाषणमा भनिएको छ, ‘जब मेरो र मेगनको विवाह भयो, हामी निकै उत्साहित थियौं, हामी आशावादी थियौं र हामी यहाँको सेवाका लागि तत्पर थियौं ।

‘ती कारणका लागि पनि आज जे देख्नुपरेको छ, भोग्नुपरेको छ, मलाई अत्यधिक पीडा महसुस हुन्छ ।’ ‘मेरी श्रीमती र मैले राजदरबारबाट पछि हट्ने जुन निर्णय लियौं त्यो सहज थिएनँ,’ उनले भने । ‘यसका लागि हामीले महिनौं दिनसम्म छलफल गर्‍यौं र थुप्रै वर्षको चुनौतीपछि मात्र यस्तो निर्णय लिएका हौं । मलाई थाहा छ, मैले सधैं सही मात्रै गरिनँ । अहिले जुन स्थिती सृजना भएको छ, त्यसको अन्य कुनै विकल्प थिएनँ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्