मूल्य वृद्धिदरको मारमा सर्वसाधारण, बजार भाउ बढ्यो ६.५५ प्रतिशतले



काठमाण्डौ । गत मंसिरमा बजार भाउ मूल्य वृद्धिद ६.५५ प्रतिशत बढ्यो । गत वर्षको पाँच महिनाको तुलनामा यो करिब २.८४ प्रतिशत विन्दुले बढी हो । उक्त अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिदर करिब १० प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ४.१० प्रतिशत बढेपछि मंसिरमा मूल्य वृद्धिदर अकासिएको राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको पाँच महिनाको समग्र आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ ।

‘तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘शिक्षा, लुगा तथा जुत्ता र फर्नि्सिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ ।’ आजको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेको समाचार अनुसार बजारमा मूल्य वृद्धिदर निरन्तर बढ्नु नयाँ होइन । वस्तु तथा सेवाको मूल्य दिनहुँजसो उच्च दरले बढिरहेको छ। विगतमा पनि यस्तै थियो ।

तर विगतमा सरकारी तथ्यांकले मूल्य वृद्धिदर बढेको पुष्टि गर्न अप्ठ्यारो थियो । किनकि तथ्यांकमा मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहँदै आएको थियो । चालु आर्थिक वर्षको सुरुवातसँगै परिस्थिति बदलिएको छ । यस वर्षका सबै महिनामा मूल्य वृद्धिका तथ्यांक पनि बढेर आएका छन् ।

तथ्यांकले बजार भाउ अचाक्ली महँगिएको पुष्टि हुने विज्ञहरू बताउँछन्। मूल्य वृद्धि हुँदा सरकारद्वारा लक्षित आर्थिक वृद्धिदर प्राप्तिमा पनि असर पर्ने उनीहरूको भनाइ छ । यो वर्ष सरकारले साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ । सो लक्ष्य प्राप्तिका लागि सरकारी खर्च बढाउनुपर्ने र त्यसले मूल्य वृद्धिमा झनै दबाब पार्ने विज्ञहरूको भनाइ छ । आन्तरिकभन्दा पनि बाह्य कारणले मूल्य वृद्धि दबाबमा रहेको विज्ञहरू बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्