भिडियो कन्फ्रेन्समार्फत आज ओली–मोदीले आईसीपी उद्घाटन गर्दै



काठमाडौं । मोरङको बुधनगरमा निर्माण सम्पन्न भएको नेपाल–भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) को आज दुवै देशका प्रधानमन्त्रीमार्फत उद्घाटन हुने भएको छ ।

भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजे प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट संयुक्त रूपमा आईसीपीको उद्घाटन गर्ने कार्यक्रम तय भएको संघीय आयोजना कार्यान्वय इकाई मोरङका सूचना अधिकारी राजु शर्माले जानकारी दिए ।

आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका –१८ मा आईसीपी निर्माण गरिएको हो । आईसिपी सञ्चालनसँगै आयात–निर्यात सहज हुने ठानिएको छ ।

आईसीपी निर्माणका लागि दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादलाई भारतले ठेक्का दिएको थियो । सम्झौताअनुसार, उसले भवन, पार्किङस्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरेको छ । नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ ।

यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको गरिएको छ । लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर/दक्षिणी राजमार्गसँग जोडिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको हो । निर्माण कार्य सन् २०१७ फेब्रोअरी १ देखि सुरु भएको थियो ।

दुई वर्षभित्र आईसीपी निर्माण सम्पन्न गर्ने भनिए पनि लक्ष्यभन्दा १५ महिनापछि मात्र निर्माण सम्पन्न गरी भारतीय पक्षले नेपालललाई हस्तान्तरण गर्न लागेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्